बिर्तामोडझापामा अटिजम भएका बालबालिकाको संख्या उच्च रहेको पाइएको छ।
१९औँ विश्व अटिजम सचेतना दिवसको अवसर पारेर  समान भविष्य फाउण्डेशन र न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी)ले संयु्क्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो  ।
  करुणा फाउन्डेसनको सन् २०२५ को तथ्यांक अनुसार झापा जिल्लामा अटिजम भएका बालबालिकाको संख्या ३ सय ४६ पुगेको एसएनजेडीका कार्यक्रम संयोजक तथा समान भविष्य फाउण्डेशनका सञ्चालक कुमार चुडालले बताए।

उनले २ सय ६१ जना पुरुष र ८५ जना महिला अटिजम भएका बालबालिकाको संख्या ३ सय ४६ पुगेको जानकारी दिए ।

झापाका १५ स्थानीय तहमध्ये बिर्तामोड, अर्जुनधारा र मेचीनगरमा अटिजम भएका बालबालिकाको संख्या उच्च देखिएको उनले बताए।
  आफ्ना बालबालिकामा अटिजम छ भन्ने कुरा अभिभावकले स्वीकार गर्दा यो संख्या अझ  बढ्ने देखिएको उनले बताए।

अटिजमसम्बन्धी चेतना विस्तार हुँदै गएको भए पनि पहिचान, सेवा र सहयोग प्रणाली अझै अपर्याप्त रहेको बताउँदै उनले नेपालको संविधान २०७२, अपाङ्गता अधिकार ऐन २०७४ तथा समावेशी शिक्षा नीतिले अटिजम भएका व्यक्तिको अधिकार सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको जनाए ।
    सरकारले अपाङ्गता परिचयपत्र, मासिक भत्ता तथा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरे पनि सबैसम्म सेवा पुग्न नसकेको बताउँदै  चुडालले यसले अटिजम भएका बालबालिकाको सही वर्गीकरण र पहुँचमा समेत समस्या देखिएको जनाए ।
    सरकारी स्तरमा सेवा सीमित हुँदा निजी तथा गैरसरकारी संस्थामा निर्भरता बढेको जसले खर्च बढाउने र पहुँच सीमित गर्ने समस्या निम्त्याएको बताउँदै उनले निजी स्तरमा खुलेका थेरापी सेन्टरमा नीतिगत कमजोरीका कारण आफुखुशी महंगो शुल्क लिने हुँदा अभिभावकहरु आर्थिक रुपमा समेत कमजोर बन्दै गएको जनाए । 
    स्थानीय तहले बजेट र सेवा केन्द्र स्थापना गर्नुपर्ने, विद्यालयमा समावेशी शिक्षा प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य संस्थाले प्रारम्भिक स्क्रिनिङ र थेरापी सेवा विस्तार गर्नुपर्ने, अभिभावक समूह र समुदायमा सचेतना बढाउनुपर्नेमा उनले जोड दिए ।

हालसम्म अटिजमसम्बन्धी छुट्टै राष्ट्रिय नीति स्पष्ट रूपमा कार्यान्वयनमा नआउँदा बालबालिकाहरुको उचित शिक्षा र हेरचाहमा अभिभावकहरुले समस्या भोग्नु परिरहेको चुडालको भनाई छ ।

झापाको दमकस्थित सरस्वती मावि र बिर्तामोडको महेन्द्ररत्न अटिजम भएका बालबालिकाका लागि कक्षा सुरु भए पनि प्रत्येक पालिकामा अटिजम भएका बालबालिको संख्या उच्च रहेकाले सबै स्थानिय तहले विद्यालय सुरु गर्नुपर्ने बताउँदै  चुडालले श्रोतकेन्द्रले पनि अटिजममा गहिरिएर त्यसमा श्रोत कक्षाहरु थप्न पहल गर्न आवश्यक रहेको जनाए ।
   ‘अटिजम र मानवता : हरेक जीवनको मुल्य छ’ भन्ने नाराका साथ विश्वभर १९औँ विश्व अटिजम सचेतना दिवसको कार्यक्रम गरिरहेको र  आफूहरूले अटिजम भएका बालबालिकाको अवस्था, चुनौती, नीतिगत व्यवस्था तथा सरोकारवालाहरूको भूमिकाबारे सञ्चारमाध्यम मार्फत  सम्वन्धित निकायलाई  ध्नाध्यानाकर्ष  गराउन पत्रकार सम्मेलन आयोजना गरेको एसएनजेडीका कार्यक्रम अधिकृत तथा समान भविष्य फाउण्डेशनका सञ्चालक रञ्जन धमलाले जानकारी दिए ।
   अप्रिल महिनाभर अटिजम सम्बन्धी सचेतना अभिवृद्धि गर्ने सन्देशसहित, समान भविष्य फाउन्डेशन  र न्याय तथा विकासका लागि सामाजिक सञ्जालले
विविध कार्यक्रम गरिरहने  उनले बताए।
     प्रारम्भिक पहिचान र निदानको अभाव, विशेषज्ञ सेवा तथा जनशक्ति कमी, समावेशी शिक्षा प्रणाली कमजोर, स्पिच तथा अकुपेशनल थेरापी सेवाको अभाव, सामाजिक कलंक र अभिभावकमा जानकारीको कमी, ग्रामीण क्षेत्रमा सेवा पहुँच अत्यन्त सीमित, सामाजिक सुरक्षा र सेवा प्रणाली अपूर्ण हुनु प्रमुख चुनौतीको रुपमा रहेको उनको भनाई छ ।
  निजी क्षेत्रबाट अटिजम भएका बालबालिकाका अभिभावकहरुले स्थापना गरेको नाफा वितरण नगर्ने समान भविष्य फाउण्डेशनले  बिर्तामोड ४ मा समान भविष्य पुर्व प्राथमिक विद्यालय  सञ्चालन गरिरहेको र हाल १२ जना विद्यार्थी अध्ययनरत रहेको सञ्चालक पुष्प खड्काले जानकारी दिए ।
     समान भविष्य फाउण्डेशन र न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी)ले संयु्क्त रुपमा अटिजम भएका वालवालिका र अभिभावकलाई विभिन्न तालिम प्रदान गरिरहेको शिक्षक सीता भट्टराईले बताइन्। 

पत्रकार सम्मेलनको सहजीकरण एसएनजेडीका कार्यक्रम अधिकृत तथा समान भविष्य फाउण्डेशनका सञ्चालक रञ्जन धमलाले गरेका थिए।