बिर्तामोड ।  महालक्ष्मी विकास बैंकले २९औं वार्षिकोत्सवका अवसरमा सरस्वती कन्या गुरुकुललाई आर्थिक सहयोग गरेको छ । 

  महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखाले २९औं वार्षिकोत्सवका अवसरमा झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारमा दिव्यपथ महिला सरोकार समाजद्वारा सञ्चालित   सरस्वती कन्या गुरुकुललाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  

 सरस्वती कन्या  गुरुकुलकी मुख्य सञ्चालिका बिदुषी बिन्दा निरौला बरालको अध्यक्षता तथा  शिवसताक्षी नगरपालिका वडा नं. १० की वडासदस्य कोपिला मैनाली चिमरियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

कार्यक्रममा महालक्ष्मी विकास बैंकका  कोशी प्रदेश प्रमुख दिपककुमार गुप्ता, बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडा, अप्रेसन इञ्चार्ज बनिता पोखरेल, कर्जा विभागका दिपल अधिकारी , तुलसी तिम्सिनालगायतले सरस्वती कन्या  गुरुकुलकी मुख्य सञ्चालिका बिदुषी बिन्दा निरौला बराल, नैनकला भट्टराईलगायतलाई  ५१ हजार रुपैयाँको चेक प्रदान गरेका थिए । 

कार्यक्रममा स्वागतसहित औचित्यमाथी प्रकाश पार्दै २०७६ साल असारदेखि दिव्यपथ महिला सरोकार समाजले सञ्चालन गरेको सरस्वती कन्या गुरुकुल सञ्चालनका लागि भवनको अभाव भएकाले आर्थिक सहयोगको खाँचो रहेको अवस्थामा महालक्ष्मी विकास बैंकले  ५१ हजार रुपैयाँ प्रदान गरेर पुण्यको कार्य गरेको बताइन् ।

उनले सरस्वती कन्या गुरुकुल सञ्चालनका लागि छात्रबाससहितको आवासिय गुरुकुल, आश्रम, जलसमाधीस्थल लगायतलाई समेटेर डिपिआर तयार भइरहेको गुरुकुलमा आवश्यकीय भौतिक संरचना निर्माणका लागि ३ करोड लागत अनुमान गरिएको  र त्यसका लागि सवैसंग आर्थिक सहयोगको अपिल गरिएको बताउँदै गुरुकुलमा बसेर अध्ययन गर्नका लागि देशभरबाट कन्याहरुले इच्छा राखेको भए पनि छात्राबासका लागि भवन अभाव भएकाले आफूहरु दाताको खोजीमा रहेको जनाइन् । 

 २०७६ सालमा स्थापित सरस्वती कन्या गुरुकुलमा बैदिक गुरुकुलीय पद्धतीद्वारा बेद, संस्कृत, साहित्य, पुराण, उपनिषद, ज्योतिष, योग ब्यायाम सहित अंग्रेजी शिक्षा र कम्युटर शिक्षा समेत प्रदान गरिने गुरुकुलकी अध्यक्ष निरौलाले जानकारी दिइन् ।  गुरुकुलमा सबै धर्म सम्प्रदायका कन्याहरुले अध्ययन गर्न पाउने बताउँदै उनले  हाल उक्त गुरुकुलमा ९ देखि १६ वर्ष उमेर समूहका२५ जना बालिकाहरु अध्ययनरत रहेको जानकारी दिइन् । 

कार्यक्रममा  महालक्ष्मी विकास बैंकका  कोशी प्रदेश प्रमुख दिपककुमार गुप्ता र बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडाले  सरस्वती कन्या  गुरुकुलमा अध्ययनरत् वालिकाहरुलाई अध्ययनमा सहजता प्रदान गर्न महालक्ष्मी विकास बैंकले  ५१ हजार रुपैयाँ प्रदान गरेको बताए । उनीहरुले  बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बताउँदै  आगामी दिनमा पनि गुरुकुललाई सहयोग गर्ने प्रतिवद्धता जनाए । 

सरस्वती कन्या  गुरुकुलमा अध्ययनरत् वालिकाहरुले स्वस्ती वाचन गरेको  कार्यक्रमको सञ्चालन दिव्यपक्ष महिला सरोकार समाजकी सचिव नैनकला भट्टराईले गरेकी थिइन् ।