बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारबाट शुरु भएको अर्ना छैटौँ झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको विभागीय एपिएफ फुटबल क्लब विजयी भएको छ ।
बिर्तामोड –३स्थित डोमालाल राजवंशी रंगशालामा संकटा फुटबल क्लव र एपिएफ फुटबल क्लबबीच भएको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई ४–२ ले हराउँदै एपिएफ फुटबल क्लब बिजयी भएको थियो । एपिएफ बिजयी भएसंगै क्वाटरफाइनलको यात्रा तय गर्यो ।
निर्धारित समयमा दुवै टोलीले गोल नगरेपछि टाइब्रेकरबाट खेलको निर्णय लिएको हो । टाइब्रेकरमा एपिएफका सुमन श्रेष्ठ, कुलदीप कार्की, फोडे फोफोना र दिपेश धिमालले गोल गरेका थिए भने संकटाका यमनबहादुर पुटवर र चन्दन दासले मात्र गोल गरे ।
खेलको म्यान अफ दि म्याच एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
यती बु्रअरी मुख्य प्रायोजक , अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको अर्ना छैटौँ झापा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा ए डिभिजन क्लबसहित १० टोली सहभागी रहेको झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिए । फागुन २८ गते फाइनल हुने झापा गोल्डकपको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनले बताए ।
शनिबारबाट शुरु भएको अर्ना छैटौँ झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेले गरे । उनले झापा गोल्डकप झापाबासीको फुटबलप्रतिको मोह र सम्मानको नमुना भएको बताए ।
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापा फुटबलको हब भएको बताउँदै झापाबासीको फुटबलप्रतिको मोहलाई ध्यान दिएर खेलकुदको विकासमा लगानी वृद्धि गर्न सरकारलाई आग्रह गरे ।
प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौँ दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए । कार्यक्रममा लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच , धुलाबारीको इस्ट होराइजन स्कुलका विद्यार्थीहरुको आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जग्गादाता डोमालाल राजवंशीका नाति भीम राजवंशीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको थियो ।
आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक समितिका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले जानकारी दिए ।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।