बिर्तामोड । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको भन्दै झापामा  किसानहरु प्रर्दशनमा उत्रिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति झापाको आह्वानमा झापाली किसानले युरिया, डिएपीका खालि बोरा ओडेर राष्ट्रिय झण्डा र मकै तथा अन्य कृषि उपजका बोट लिएर रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज बिना धितो कृषी ऋण उपलब्ध गरा भन्ने लगायतका  नारावाजीसहित बिर्तामोड नगर परिक्रमा गरी मुक्तिचोकमा नारावाजी गर्दै कोणसभा गरेका थिए ।

  कृषि तथा पशुपन्छी विकास मन्त्रालय मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २६ गतेको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि त्यसको विरोधमा झापाको बिर्तामोडबाट किसान आन्दोलन शुरु गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिए।

कृषिप्रधान मुलुकका किसानको ढाड सेक्ने तथा मुलुकको आन्तरिक उत्पादनलाई समेत ह्रास गराई वाह्य निर्यातलाई बढवा दिने उदेश्यसहित रासायनिक मलमा गरेको चर्को मुल्यबृद्धिको बिषयमा कसैले पनि  आवाज नउठाएकाले आफुहरुले झापाबाट राष्ट्रिय झण्डाकासाथ किसान आन्दोलनको थालनी गरेको उनले बताए ।

मुक्तिचोकमा भएको कोणसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरा ढकालले रासायनिक मलमा भएको मूल्यबृद्धि र अनुदान कटौतीले किसानको अवस्था दयनीय भएको बताउँदै अनुदान कटौति तत्काल फिर्ता गरी किसानहरुलाई थप राहातका कार्यक्रमहरु ल्याउन माग गरेका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव प्रकाश पाठकले कृषिप्रधान देशमा किसानलाई सहुलियत दिनुको सट्टा किसानमारा निती ल्याएर देशलाई मरुभुमिकरण बनाउने सरकारको कदम अविलम्ब फिर्ता लिएर किसानको हितमा काम गर्न आग्रह गरे । किसानमाथि गरिएको विभेदविरुद्ध पार्टीको झण्डाभन्दा पनि राष्ट्रिय झण्डा बोकेर सडकमा निस्केको उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला  नेता सुरेशकुमार पोखरेल , बाह्दशीका किसान केशव बराललगायतले सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएर किसानमारा काम गरेको बताए । 

 मुक्तिचोकमा भएको कोणसभामा झापाको बिभिन्न पालिकाका किसानहरुले सहभागिता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिए।