बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको बचत रकमले कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवनका लागि जग्गा खरिद गरिने भएको छ । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक समितिले आयव्यव विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
श्री सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाइमा बिर्तामोड–४ स्थित मेघाबारी टोलमा दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको श्री सिद्धिविनायक भजन किर्तन मण्डलीकी अध्यक्ष गितादेवी भण्डारी पोखरेलले जानकारी दिइन् ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको प्रमुख कथावाचन भागवत मञ्जरी राधिका दासीले गरेको र महायज्ञको उद्घाटन सभामुख देवराज घिमिरेले गरेको उनले बताइन् ।
बिर्तामोड–४ का समाजसेवी गुरुप्रसाद ओझाले निःशुल्क प्रदान गरेको ११ धुर जग्गामा श्री सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाइमा गणेश पाञ्चायन मन्दिर निर्माण गरेर फागुन ९ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा पश्चात सञ्चालनमा आइसकेको र समितिले कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि यस अघि नै ११ धुर जग्गा बैना गरिसकेको र थप जग्गा खरिद गर्न महायज्ञबाट बचत रकम सदुपयोग गरिने महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिइन् । महायज्ञमा धेरै दाताहरुले जग्गा खरिद तथा भवन निर्माणको समयमा सहयोग गर्ने प्रतिबद्धता जनाएको र महायज्ञ पश्चात थुप्रै मानिसले सदस्यताका लागिसमेत रकम जम्मा गरिरहेको उनले बताइन् ।
महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा महायज्ञ आयोजक समितिका सहसंयोजक नारायण राजवंशीले स्वागत गरेका थिए ।
कार्यक्रममा आर्थिक समिति संयोजक तथा महायज्ञ आयोजक समितिका कोषाध्यक्ष यामप्रसाद न्यौपानेले आयव्यव विवरण सार्वजनिक गरेका थिए ।
उनले महायज्ञमा एक हजार पाँच सय भक्तजनबाट बिल मार्फत ६९ लाख ५० लाख ७ सय ५७ रुपैँया जम्मा भएको त्यस्तै, चामल, चिनी र आँटा बिक्रीबाट २८ हजार ४ सय रुपैँया, दान पेटिकाबाट २ लाख ८० हजार ५ सय ९३ रुपैँया, मन्दिरको भेटिबापत ७ हजार ३ सय ६२ रुपैँया नगद आम्दानी भएको जानकारी दिए ।त्यस्तै चेक साट्न बाँकी २ लाख १४ हजार १ सय ३० रुपैँया र उठ्न बाँकी ११ लाख ८८ हजार ४ सय ६३ रुपैँया रहेको उनले बताए ।
फागुन २० देखि २७ गतेसम्म आयोजित महायज्ञमा विभिन्न शिर्षकमा २४ लाख ४१ हजार ८ सय ९३ रुपैँया र फागुन ९ देखि १२ गतेसम्म आयोजित मन्दिरको प्राण प्रतिष्ठामा ३ लाख २१ हजार ८ सय २९ रुपैँया खर्च भएको आर्थिक समितिका सदस्य राम सिटौलाले जानकारी दिए । नबिल बैंकको बिर्तामोडस्थित समितिको खातामा ३६ लाख ३४ हजार २ सय ४६ रुपैँया र नगद ४९ हजार २ सय ६४ रुपैँया मौज्दात रहेको उनले बताए ।
महायज्ञमा समाजसेवी तथा शिक्षासेवी जयनारायण ढुंगानाले कर्मयोग भवनका लागि २ धुर जमिन खरिदबापतको ७ लाख २२ हजार रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाएको , परोपकार वृद्धाश्रममा आश्रित चन्दबहादुर श्रेष्ठले मन्दिर निर्माण र जग्गा खरिदका लागि ४ लाख रुपैँया उपलब्ध गराएको,
कचनकवल ५ स्थायी घर भई हाल बिर्तामोडको शनिश्चरे ट्याक्सी स्टेण्डमा हार्डवेयर व्यवसाय गरिरहेका जयनारायण यादवले आफ्ना पितृहरुको स्मरणमा आधा धुर जग्गा खरिदबापत १ लाख ८१ हजार रुपैँया उपलब्ध गराएको आर्थिक समिति सदस्य दिनेश अधिकारीले जानकारी दिए ।
कार्यक्रममा महायज्ञलाई सफल बनाउन अहोरात्र खट्ने ५० जना भन्दावढी स्वयम्सेवकहरुलाई कदर पत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा महायज्ञ आयोजक समितिका सल्लाहकार खड्गप्रसाद दाहालले बिर्तामोड–४ स्थित मेघाबारी टोलमा दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्न जग्गा खरीद गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सबैको सहयोगले सफल भएको बताए ।
कार्यक्रममा महायज्ञ आयोजक समितिका सचिव पुष्प खड्काले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न गराउन जिन्सी सौजन्य तथा अन्य सहयोग गर्ने विभिन्न संस्था, विभिन्न समिति तथा उपसमितिका सदस्य, स्वयम्सेवक, चन्दादाता तथा भक्तजनलगायतलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमकोे सञ्चालन सचिवालय सदस्य तथा प्रसार प्रसार उपसमिति संयोजक केशव भट्टराईले गरेका थिए ।




















