बिर्तामोड । झापाका चिया उद्योगी, किसान र श्रमिकलगायतले  कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रको समस्या सम्बोधन गर्न आग्रह गरेका छन् । 

कोशी प्रदेश सरकार आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको बेलामा उनीहरुले यस्तो आग्रह गरेका हुन् । 

  करिब ७० हजारभन्दा वढीलाई रोजगारी सिर्जना गर्न सफल चिया क्षेत्रले कोशी प्रदेशको  आर्थिक विकास र विदेशी मुद्रा आर्जनमा मुख्य भूमिका निर्वाह गर्दै आएको र कोशी प्रदेशकै प्रमुख आर्थिक क्षेत्रको रुपमा रहेको चिया क्षेत्रलाई विशेष क्षेत्र मानेर   आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम तय गर्न उनीहरुको आग्रह छ । 

संवाद समूह झापाको संयोजनमा झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनीहरुले कोशी प्रदेशसभा सदस्य चिन्तन पाठकसमक्ष कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको    आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रको समस्या सम्बोधन गर्न आग्रह गरे ।  

 कार्यक्रममा कोशी प्रदेशसभा सदस्य चिन्तन पाठकले चिया क्षेत्रका समस्या पहिचान गरी समाधानमा प्रदेश सरकार लागीपरेको बताए । 

 उनले चिया क्षेत्र कोशी प्रदेशको पहिचान र आर्थिक विकासको हिसाबले मुख्य बालीको रुपमा रहेकाले चियामा देखिएका समस्या समाधानमा जुट्न आफूले मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराइसकेको जानकारी दिए । 

उनले चिया उद्योगी, किसान र श्रमिक सबैको हित हुने गरी कोशी प्रदेश सरकारले   आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रका समस्या सम्वोधन गरिने प्रतिवद्धता जनाए । 

नेकपा एमालेका जिल्ला सचिव शिव ढुंगेलले कोशी प्रदेश सरकारले   आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रका समस्या दीगो रुपमा समाधान हुने गरी सम्बोधन गर्न माग गरे । 

कोशी प्रदेशमै सवैभन्दा ठूलो संख्यामा श्रमिकलाई रोजगारी दिएको तथा प्रदेशको आर्थिक मेरुदण्डको रुपमा चिया क्षेत्र रहेको बताउँदै उनले चिया क्षेत्रको विकास र विस्तार गर्न सके कोशी प्रदेशको उन्नयनमा टेवा पुग्ने बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न आग्रह गरे ।  

उनले कोशी प्रदेशको मुख्य नगदेबाली चियाको प्रवद्र्धन, विकास र विस्तारका कार्यक्रम  आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा समेट्न आग्रह गरे । 

चिया उद्योगी, किसान र श्रमिकलाई प्रोत्सहान तथा सामाजिक सुरक्षा हुने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउँदै उनले नेपाल सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न  आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा समेट्न आग्रह गरे ।     

  गुणस्तरीय चिया उत्पादन तथा चिया निर्यातको परिमाणलाई वृद्धि गर्ने गरी कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम  आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा समेट्न उनले  आग्रह गरे ।    

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भूपाल सापकोटा, फापुनका संयोजक सन्तकुमार राई, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ,नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका प्रदेश अध्यक्ष हर्कजंग थुङ्गिम, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष जग्गनाथ पौडेल, चिया प्राविधिक अनन्त ढुंगाना, गोपाल गुरुङलगायतले चिया अनुसन्धान प्रयोगशाला व्यवस्थित गर्नुपर्ने, प्राविधिकलाई तालिमको व्यवस्था गर्नुपर्ने, चिया अध्ययन गर्ने क्याम्पसको स्थापना गर्नुपर्ने, चियाको बिमा गर्नुपर्नेलगायतका कार्यक्रम आगामी आर्थिक बर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा समेट्न आग्रह गरे । 

 उनीहरुले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी तथा नीति चिया क्षेत्रमा कार्यान्वयन गर्न, चियाको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापनाका लागि पहल गर्न, कोशी प्रदेशमा चिया विकास बोर्ड स्थापनाको पहल गर्न र चिया अक्सन बजार व्यवस्थापन गर्न प्रदेश सभा सदस्य चिन्तन पाठकमार्फत कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।