बिर्तामोड । भ्रष्टाचारको मुद्दा लागेका नेताहरुलाई कारवाहीको भागीदार बनाउन लागि युवा नागरिक समाज झापामा आवद्ध युवाले माग गरेका छन् । युवा नागरिक समाज केन्द्रीय समिति झापाको आयोजनामा भएको नेपाली जनताको समृद्धि र स्वाभिमान जनता र राष्ट्रका लागि भ्रष्टाचारबिरोधी अभियान अन्तरगत देशमा भइरहेको भ्रष्टाचार र बेथितिकाबिरुद्ध उनीहरुले बिर्तामोडमा खबरदारी सभा गर्दै यस्तो माग गरेका हुन् ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई निलम्बन गर्नुपर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको सरकारलाई काम गर्न दिनुपर्ने र सरकारले चालेका महत्वपूर्ण कदममा शक्तिकेन्द्रहरूको आडमा अवरोध नगर्न उनीहरुले माग गरेका छन् ।
उनीहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नेलाई सामाजिक बहिस्कार गर, सरकार तिमी अघि बढ जनता तिम्रो साथमा छ, नेपाल सरकार हाई हाई, भ्रष्टाचारी बाई बाई, भ्रष्टाचार बिरोधी महाअभियानमा एक हौं, गणतन्त्रबादी एक हौंलगायतका प्लेकार्डसहित निस्किएको युवाको र्यालीले बिर्तामोड नगर परिक्रमा गर्दै मुक्तिचोकमा खवरदारी सभासमेत गरेको युवा नागरिक समाज झापाका उपाध्यक्ष देव संग्रौलाले बताए ।
युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शेरबहादुर थापा, प्रत्युस राना, देशु बनेम, युवा नागरिक समाज झापाका उपाध्यक्ष देव संग्रौलालगायतले नक्कली भुटानी शरणार्थी बनाउने जघन्य अपराधमा संलग्न र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गरेका थिए । कार्यक्रमको सञ्चालन युवा नागरिक समाज भद्रपुरका हेमलाल भट्टराईले गरेका थिए ।




















