बिर्तामोड । राधिका फाउन्डेशनले झापाको बाह्दशी–७ मा निर्माण गर्ने भवनको शिलान्यास गरिएको छ ।

झापाको बाह्दशी–७ मा पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिना (भिमाम्बिका तिम्सिना)को परिवारले निःशुल्क प्रदान गरेको १२ कठ्ठा जग्गामा अनाथ, असहाय, विपन्न ,सडक बालबालिकाको उद्धार गरी  पालनपोषण तथा संरक्षण गर्दै उनीहरुलाई गुरुकुलीय शिक्षा प्रदानका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष एवम्  पूर्व उपप्रधानमन्त्री तथा उर्जामन्त्री  राजेन्द्र लिङ्देन र राधिका फाउन्डेशनकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले भवनको शिलान्यास गरेका थिए ।

  भवन  निर्माण गर्ने उद्देश्यले राधिका फाउन्डेशनको आयोजनामा कनकाई–६ चम्पापुरस्थित श्री गायत्री मन्दिरमा  गत मंसीर २२ गतेदेखि श्रीमद् भागवत् धान्याञ्चल महायज्ञ सञ्चालन गरिएको र उक्त महायज्ञबाट साढे १३ कठ्ठा जग्गा र ३५ लाख भन्दा वढी रकम  संकलन भएको महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद तिम्सिनाले बताए ।   

  पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिना (भिमाम्बिका तिम्सिना)को परिवारले १२ कठ्ठा , पण्डित केदारनाथ ढकालको परिवारले १ कठ्ठा र मुक्तिप्रसाद रिजालको परिवारले १० धुर जग्गा दान प्राप्त भएको  बताउँदै तिम्सिनाले सोही जग्गामा भवन निर्माण शुरु गरिएको जानकारी दिए । 

 राधिका फाउन्डेशनकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले अनाथ, असहाय, विपन्न ,सडक बालबालिकाको उद्धार गरी उनीहरुको पालनपोषण तथा संरक्षण गर्दै उनीहरुलाई गुरुकुलीय शिक्षा प्रदानका लागि बाह्दशी–७ मा  भवन शिलान्यास गरिएको जानकारी दिइन् । 

सवैको सहकार्य र एकजुट भएमा मात्र भवन निर्माण कार्य सम्भव हुने भएकाले भवन निर्माणमा तन,मन, धनले सहयोग गरी पुण्यको भागी वन्न उनले आग्रह गरिन् ।