बिर्तामोड । अटिजम केयर सोसाईटी बिराटनगरले अटिजम केयर सोसाईटीमा अध्यनरत् बालबालिकाका महिला अभिभावकहरु, संस्थाका सदस्यहरुको सहभागितामा महिलाहरुको महान पर्व हरितालिका तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ ।

अटिजम केयर सोसाईटीमा अध्यनरत् बालबालिकाका महिला अभिभावकहरुसंग खुशीयाली साटासाट गर्दै तीज मनाएको अटिजम केयर सोसाइटी बिराटनगरकी सिइओ मिरा चुडालले बताइन् ।

अटिजम भएका बालबालिकाका लागि छुट्टै सेन्टर नभएपछि विराटनगर ४ प्रगति मार्गमा २०७५ सालमा अटिजम केयर सोसाईटी नामक संस्था स्थापना गरेर अटिजम भएका बालबालिकाकालाई शिक्षासँगै नियमित थेरापी दिने गरिएको संस्थाका अध्यक्ष  निधिरत्न बाँस्तोलाले बताए । अटिजम भएका बालबालिकालाई नियमित थेरापी गर्दा केही सुधार भएपछि अभिभावकमा आशा पलाएको उनले बताए । 

संस्थाकी सिइओ मीरा चुडालले आफ्नो छोरामा अटिजमको लक्षण देखिएपछि आफू विराट मेडिकल कलेजमा गर्दै आएको नर्सीङ पेशा छाडेर छोराको स्याहारमा लागेको बताइन् । 

 छोरालाई नियमित थेरापी गराउँदा  शत प्रतिशत सुधार गर्न नसकेपनि ५० प्रतिशत भन्दा वढी  सुधार गर्न सकिनेमा उनी विश्वस्त छिन् । अटिजम केयर सोसाइटी बिराटनगरमा स्पिचथेरापी, अकुपेसनल थेरापीसहित अटिजम भएको बालबालिकाहरुको सामाजिकिकरणको कार्य गर्नको लागि सेवा  उपलब्ध हुने उनले बताइन् ।

पछिल्लो समय तीज पर्वको नाममा गरिने तडकभडकले समाजमा विकृति ल्याएकाले अटिजम केयर सोसाईटीमा अध्यनरत् बालबालिकाका महिला अभिभावकहरुसंग तीज मनाउँदा आफूलाई खुशी लागेको तारा चुडालले बताइन् ।