बिर्तामोड ।  साहित्य चौतारी झापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती मनाएको छ । 

झापाको अर्जुनधारा शनिश्चरे चौकमा रहेको महाकवि देवकोटाको शालिक परिसरमा विविध कार्यक्रम गरी साहित्य चौतारी झापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती मनाएको हो ।

संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा लोकगायक तथा संस्थाका वरिष्ठ सल्लाहकार अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा  प्रमुख अतिथि ओली , साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक चर्चित भजन गायक देवीभक्त श्रेष्ठ, अध्यक्ष परियार, कोषाध्यक्ष भवानीप्रसाद गौतमलगायतले महाकवि देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक चर्चित भजन गायक  श्रेष्ठले महाकवि  देवकोटाद्वारा रचित कुन मन्दिर जान्छौं यात्री..,ईश्वर तैंले रचेर फेरी..., बोलको गीत प्रस्तुत गर्नुका साथै  आ है भन भन भाई हो, देउसिरे भनी देउसी भट्याएका थिए ।

उनको गीत तथा देउसीमा कार्यक्रममा सहभागी वालवालिकादेखि वृद्धवृद्धाले समेत साथ दिएका थिए ।

कार्यक्रममा श्रेष्ठले साहित्य चौतारी  झापाको आयोजनामा  साहित्य चौतारी  झापाको २५ औं रजत वर्ष उत्सवको अवसरमा  आगामी कात्तिक २८ गते मंगलबार गोवद्र्धन पूजाका दिन बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण)मा दक्षिणारहित सामुहिक सडक देउसी खेलिने र महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती ,नेपाल सम्वत ११४४ र म्ह् पूजा र तिहार विशेष शुभकामना आदानप्रदानसहितका कार्यक्रम गरिने जानकारी दिएका थिए  । उनले दक्षिणारहित सामुहिक सडक  देउसीमा राष्ट्रिय पोशाक तथा आ आफ्नो जातिय पोशाकमा सहभागी हुन स्रष्टा सर्जक, सामाजिक संघसंस्था र झापावासीलाई  आग्रह गरेका थिए ।

 त्यस्तै ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा नगर समितिले विविध कार्यक्रम गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती मनाएको अध्यक्ष रामप्रसाद भट्टराईले बताए । 

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सल्लाहकार कृष्णप्रसाद पौडेलले गरेको सदस्य कुमार श्रेष्ठले जानकारी दिए ।