बिर्तामोड । झापाका मेडिकल ब्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानले आगामी मंसिर ७ गतेदेखि काठमाडौँमा शुरु गर्ने ‘बृहत् नागरिक मुक्ति आन्दोलन’लाई विश्वका सम्पूर्ण हिन्दूवादी संघसंगठनले समर्थन र सहयोग गर्ने भएका छन् । 

 नेपाल हिन्दू राष्ट्र पुनःस्थापना मञ्चका अध्यक्ष तथा विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्ष डा.इ.बिष्णुप्रसाद वरालले झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा यस्तो खुलासा गरेका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानले आगामी मंसिर ७ गतेदेखि काठमाडौँमा शुरु गर्ने ‘बृहत् नागरिक मुक्ति आन्दोलन’मार्फत नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना गर्न आफू विश्वका सम्पूर्ण हिन्दूवादी संघसंगठनको आव्हान, भारतका सवै हिन्दूवादीको आव्हान, अखडा परिषदको आव्हान, शंकराचार्यको आव्हानको सन्देश लिएर  विश्वका सम्पूर्ण हिन्दूबादी संघसंगठनको दुतको रुपमा बृहत् नागरिक मुक्ति आन्दोलन’मा सहभागिताका लागि आएको उनले बताए ।

भारतका सम्पूर्ण साधुसन्त, नागासाधुले आगामी मंसिर ७ गतेदेखि काठमाडौँमा शुरु गर्ने ‘बृहत् नागरिक मुक्ति आन्दोलन’मा सहभागी हुने बताउँदै उनले आवश्यक परेको खण्डमा शक्ति प्रदर्शन गर्ने समेत जनाए।

साधुसन्तको कुनै राज्य र सिमा नहुने भएकाले पनि नेपाललाई हिन्दू राष्ट्र पुनःस्थापना गर्न मेडिकल ब्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानले आगामी मंसिर ७ गतेदेखि काठमाडौँमा शुरु गर्ने ‘बृहत् नागरिक मुक्ति आन्दोलन’लाई समर्थन गरेको उनको भनाई छ । 

 यता राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानका संयोजकसमेत रहेका दुर्गा प्रसाईले मंसिर ७ गतेदेखि देशैभर ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ शुरु गर्ने बताएका छन् ।

 राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउन निरन्तर आन्दोलनका कार्यक्रम गरिरहने बताउँदै उनले यो डुब्न लागेको देश र नागरिक बचाउने महाअभियान भएकाले यसलाई साथ र सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । 

आगामी मंसिर ७ गते दीप प्रज्वलन गरेर काठमाडौँमा शुरु गर्ने ‘बृहत् नागरिक मुक्ति आन्दोलन’को उद्देश्य संघीयता खारेज गर्नुपर्ने ,धर्मनिरपेक्षताको साटो वैदिक सनातन राज्य बनाउनुपर्ने र तेस्रो, देशमा गरिखान पाउने व्यवसायीक वातावरण दिनुपर्ने रहेकाले यो अभियानमा जनताको सहभागिता समेत बढ्दै गएको उनले बताए ।

‘बृहत् नागरिक मुक्ति आन्दोलन’ सर्वहारा र भुईंमान्छेको मुक्तिका लागी भएको बताउँदै उनले उक्त बृहत् मुक्ति नागरिक आन्दोलनमा ७७ जिल्लाबाटै आमनागरिकहरु सहभागिता गराइ माग पूरा नहुन्जेलसम्मका लागि अनिश्चितकालिन समयसम्म जारीरहने जानकारी दिए ।