बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कनकाई हस्पिटल सञ्चालक समितिको अध्यक्षमा युवराज डाँगी चयन भएका छन् ।

कनकाई हस्पिटलको बिर्तामोडमा सम्पन्न १७ औं साधारणसभाले आगामी तीन बर्षे कार्यकालका लागी डाँगीलाई  सर्वसम्मत अध्यक्षमा चयन गरेको हो  ।

हस्पिटलको बिधानमा हरेक तीन बर्षमा सञ्चालक मध्येबाट एकजना अध्यक्ष हुने प्रावधान रहेको र सोही प्रावधान बमोजिम डाँगी अध्यक्षमा चयन भएको कनकाई हस्पिटलले जनाएको छ । यसअघि डाँगी कनकाई हस्पिटलको प्रबन्ध निर्देशक थिए ।

कनकाई हस्पिटल सञ्चालक समितिको अध्यक्षमा यसअघि बरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डाक्टर प्रेमबहादुर शाही  थिए । उनले दुई कार्यकाल कनकाई हस्पिटल सञ्चालक समितिको नेतृत्व गरे ।

कनकाई हस्पिटलको  बिधानमा कनकाई हस्पिटलका सञ्चालक सदस्य रहने प्रावधान रहे अनुसार कनकाई हस्पिटल सञ्चालक समितिको सदस्यहरुमा यामबहादुर खड्का, महेन्द्रबहादुर राई, खेमराज वनियाँ (श्रेष्ठ) ,राजकुमार राई सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै साधारण सभाले कनकाई हस्पिटल सञ्चालक समितिको प्रमुख सल्लाहकारमा हस्पिटलका निवर्तमान अध्यक्ष बरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डाक्टर प्रेमबहादुर शाहीलाई चयन गरेको छ भने सल्लाहकारमा किशोर भुजेललाई चयन गरेको छ । 

कनकाई हस्पिटलका अध्यक्ष डा. प्रेमबहादुर शाहीको अध्यक्षता तथा  स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  स्वागत हस्पिटलका सञ्चालक तथा संस्थापक प्रबन्ध निर्देशक महेन्द्रबहादुर राईले गरेका थिए । 

कार्यक्रममा हस्पिटलका  प्रबन्ध निर्देशक युवराज डाँगीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कनकाई हस्पिटलले आर्थिक बर्ष २०७९\०८० मा बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिक गरी ५५ हजार ८सय ३४ जना बिरामीलाई सेवा दिएकोमा स्वास्थ्य विमा अन्तरगत ३९ हजार ८ सय ९२ जनालाई सेवा दिएको , २८ लाख ९५ हजार ५ सय ३२ रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरेको , सबै प्रकारका ल्याबमा चार लाख ९६ हजार ६ सय ७० जना बिरामीको परीक्षण गरेको , जेनेरल वार्डमा पाँच हजार २ सय १३ र सघन उपचार कक्ष आइसियुमा २ सय ८३ जनाको उपचार गरिएको ,  सामान्य शल्यक्रिया ६ सय ५७ वटा, गम्भीर शल्यक्रिया एक हजार ४ सय ४ वटा र महिला तथा प्रसूतिको शल्यक्रिया २ सय २० वटा गराएको डाँगीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रममा कम्पनी सचिव तथा कानुनी सल्लाहकार सोमबहादुर राई, हस्पिटलकी मेट्रोन निशा वि.क, डा. सन्तोषकुमार मिश्र, डा.दिपेन्द्रकुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हस्पिटलका सञ्चालक खेमराज बँनिया, किशोर भुजेल, राजकुमार राई, डा. धिरज गिरी, शेयर सदस्य यामकुमार खड्का, निलकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन हस्पिटलका पूर्व सञ्चालक फणीन्द्र चापागाईंले गरेका थिए ।