बिर्तामोड  । नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडको आयोजनामा  बिर्तामोड– ३ बिर्ताबजारमा निःशुल्क कपडा बितरण तथा खिचडी खुवाउने कार्यक्रम सम्पन्न भएको छ । 

 मकर संक्रान्तीको अवसर पारेर जाडोको समयमा कपडाको अभावमा कष्टकर जीवन विताउँदै आएका विपन्न र असहाय व्यक्तिलाई न्यानो कपडा, व्लाङकेट बितरण गरिएको तथा मकर संक्रान्ती मनाएर आउने व्यक्तिलाई खिचडी खुवाइएको मधेसी समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर मण्डलले बताए । 

मधेसी समाज सेवा समिति बिर्तामोडकाअध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका  प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधेसी समाज सेवा समिति बिर्तामोडका सदस्य सन्तोष दासले स्वागत गरेका थिए । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाका  प्रमुख पवित्रा महतारा प्रसाई, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकी , छठ समाज सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष प्रेमचन्द चौधरीलगायतले शुभकामना दिएका थिए । 

 मधेसी समाज सेवा समिति बिर्तामोडका उपाध्यक्ष उमेश चौधरी , सहसचिव प्रकाश महतो कार्यक्रम संयोजक रहेको कार्यक्रममा युवा व्यवसायीहरु शत्रुघन रौनीयार, अनन्तलाल महतो, छठ समाज सेवा समिति, छठ महिला मञ्च, योगदान राष्ट्रको लागि झापा शाखाका सदस्य मोहन झालगायतले सहयोग गरेका थिए ।

कार्यक्रममा एक हजार भन्दा वढीलाई कपडा वितरण गर्नुका साथै खिचडी खुवाइएको मधेसी समाज सेवा समिति बिर्तामोडका सल्लाहकार सञ्जय शर्माले बताए। कार्यक्रमको सञ्चालन छठ महिला मञ्चकी महासचिव निशा सोनी कर्णले गरेकी थिइन् । नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडको आयोजना र योगदान राष्ट्रको लागि झापा शाखाको सह आयोजनामा कपडा वैंक सञ्चालन भइरहेको छ ।