बिर्तामोड । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाले पूर्व अध्यक्षलाई सम्मान , बिरामी पत्रकारलाई सहयोग र पत्रकारको निःशुल्क आँखा जाँच गरेको छ । 

बिर्तामोड –७ स्थित शहिद नेत्रपार्कमा झापाली पत्रकारहरुको सहभागितामा उक्त कार्यक्रमहरु गरिएको प्रेस चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रदीप परियारले बताए । 

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता तथा  नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया  तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रेस चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रदीप परियारले स्वागत गरेका थिए ।   

कार्यक्रममा प्रेस चौतारी झापाका दोस्रो अध्यक्ष तोयानाथ उपेक्षितलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।  उपेक्षित वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेकाले त्यस समयका कोषाध्यक्ष रहेका उनका सहकर्मी रमेश गौतमले उक्त सम्मान पत्र र नगद ग्रहण गरेका थिए ।

प्रेस चौतारी झापाले यसअघि संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा उक्त सम्मान गरेको प्रेस चौतारी झापाका उपाध्यक्ष परियारले जानकारी दिए । उनले प्रत्येक वर्षको स्थापना दिवसमा क्रमागतरुपमा अध्यक्षलाई सम्मान गरिँदै लैजाने जनाए । 

सोही कार्यक्रममा बिरामी भएका तीन जना पत्रकारलाई पत्रकार उपचार सहयोग कोषबाट उपचार खर्च वापत रकम बितरण गरिएको थियो ।

मुटुको शल्यक्रिया गरी हाल स्वास्थ्य लाभ गरिरहेका पत्रकार तुलसीप्रसाद निरौलासहित पत्रकारहरुउद्धव पुरी,  र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँका दरले पत्रकार उपचार सहयोग कोषबाट उपचार खर्च प्रदान गरिएको पत्रकार उपचार सहयोग कोषका संयोजक सन्तोष आचार्यले बताए ।  

त्यस्तै सोही कार्यक्रममा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागी पत्रकारहरुको निःशुल्क आँखा परीक्षण गरिएको थियो । बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत विनोद दाहालको नेतृत्वमा आएको टोलीले पत्रकारहरुको आँखा परीक्षण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सचिव रेजिना रोदन, बिर्तामोड–७का वडाध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वनभोजसहित आयोजना गरिएको कार्यक्रममा मनोरञ्जनात्मक प्रतियोगिताहरु समेत सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी झापाका कोषाध्यक्ष तीलक योञ्जनले गरेका थिए ।