बिर्तामोड। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात जन्म दिने आमा र जन्म भएको भूमि स्वर्ग भन्दा प्रिय हुन्छ । यी दुबैको महत्व यी दुबैलाई छाडेर टाढा जाँदा बढी अनुभूत हुनेगर्छ । यस्तै अनुभूत गरेर झापा निवासी हाल वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका अर्पण खड्काले झापाको बाह्रदशी –३ राजगढमा रहेको आफूले अध्ययन गरेको पशुपति माविमा अध्ययनरत् १४ जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
उनले आफ्नो आमा लीलामाया तथा छोरा आदर्शविक्रम खड्काको सम्मानमा लीलामाया खड्का आदर्श फाउन्डेसन स्थापना गरि फाउन्डेसनमार्फत उक्त विद्यालयमा अध्ययनरत १४ जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन् ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खड्काको परिवारले १४ जना विद्यार्थीलाई कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्नेगरी अभिभावकत्व लिएको विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले जानकारी दिए ।
खड्काले कक्षा १ देखि ८ सम्म पढ्ने दलित, आदिवासी, सीमान्तकृत तथा विपन्न विद्यार्थीको अध्ययनमा सहयोग गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेको प्रधानाध्यापक दाहालले बताए ।
कतारमा फूलको व्यवसाय गर्दै आएका खड्का नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष समेत रहेका छन् ।
आफू वैदेशिक रोजगारको शिलसिलामा कतारमा रहेपनि आफूले अध्ययन गरेको विद्यालयमा लीलामाया खड्का आदर्श फाउन्डेसनमार्फत विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न पाउँदा ज्यादै खुशी लागेको खड्काले बताए । उनले फाउण्डेसनमार्फत झापामा सामाजिक कार्य गर्ने जानकारी दिए ।
वैदेशिक रोजगारमा रहेपनि आफूले अध्ययन गरेको विद्यालयमा आर्थिक अभावमा कष्टकररुपमा अध्ययन गर्दै रहेका विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर अर्पण खड्काले ठूलो गुन लगाएको संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले बताइन् । अभावमा रहेकाहरुको शिक्षाको ज्योति फैलाउन खड्काले गरेको कार्य अरुहरुका लागी प्रेरणादायी बनेको उनले बताइन् ।




















