बिर्तामोड । झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलमा बाथरोगको उपचार भइरहेको छ । वरिष्ठ बाथ रोग विशेषज्ञ डा.लवराज लोहनीले बाथ रोगबाट पीडित हुनेहरूका लागी उपचार शुरु गरेका हुन् । 

झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलमा कार्यरत्  वरिष्ठ बाथ रोग विशेषज्ञ डा.लवराज लोहनीले जनचेतनाको कमिले वाथ रोगका विरामी बढेको बताउँदै यो रोगका विषयमा धेरै जानकारी आम मानिससम्म पुग्न अझै बाँकी  रहेको जनाए ।

बाथले कुनै विशेष उमेर समूहका व्यक्तिलाई मात्र नभई सबै उमेर समूहका व्यक्तिलाई सताउने भएकाले सुरुवाती चरणमा बाथ रोगलाई पहिचान गर्न सकियो भने उपचार सहज हुने उनले बताए । 

बाथ रोग लागेपछि निको नभएपनि यसलाई  नियन्त्रण गर्न भने सकिने बताउँदै उनले  बिरामीले लापरबाही गरे समस्या बढ्नुका साथै  अन्य रोगको जोखिमलाई समेत बढाउने भएकाले बाथ रोग छ भने बाथ रोग विशेषज्ञलाई नै देखाउनु बुद्धिमानी हुने जनाए ।

चिकित्सा विज्ञानले बाथ रोग लाग्नुको यकिन कारण पत्ता लगउन नसकेको बताउँदै उनले वंशाणुगत, ब्याक्टेरिया, वातावरणीय प्रदुषणजस्ता कारणले बाथ रोग लाग्ने गरेको पाइएको जनाए ।

बाथ रोगले कुनै एउटा अंगविशेष मात्र नभई शरीरका विभिन्न अंगहरु जस्तै  नङ, छाला, जोर्नीदेखि भित्री अंगहरू फोक्सो, नसा, रक्तनलीलगायतलाई  एकैपटक असर गर्ने भएकाले  तुरुन्त बाथ रोग विशेषज्ञलाई देखाउनु पर्ने उनले बताए । 

उनले बाथ रोगको  लक्षणलाई ठम्याउन नसकेर बिरामीले निद्रा नलागेमा जथाभावी औषधि किनेर खाने, शरीर दुख्दा फ्लेक्जन खाने, परीक्षण बिना नै आयुर्वेदिक औषधि खाइदिने गर्दा पैसासँगै रोग पनि बढ्दै जाने भएकाले  बाथ रोग देखिसकेपछि चिकित्सकको सुझावअनुसार औषधि लिन र उपचार गर्न आवश्यक भएको बताए ।

बाथ रोग विभिन्न प्रकारका हुने भएपनि  गठिया बाथ, लुपस, ढाडको बाथ, र्‍युमाटाइस आरथाइटिस, भास्कुलाइटिस, छाला बाक्लो हुनेलगायतका बाथ रोग बढी देखिने गरेको बताउँदै उनले बाथको प्रकार फरक भएपनि अधिकांश बाथ रोग जोर्नीबाट सुरु हुने र यो रोगले अलि समयपछि बाथ रोगअनुसार शरीरका विभिन्न अंगलाई असर गर्ने जनाए । 

बाथ रोगका अधिकांश बिरामीहरू समस्या बढ्दै गएपछि मात्र अस्पताल आउने भएकाले र अधिकांशले रोग पत्ता नलगाई विभिन्न औषधि खाइरहेकाले पनि , समस्या  जटिल बन्दै जाने बताउँदै उनले समयमै बाथ रोग विशेषज्ञलाई नै देखाउन आग्रह गरे ।

कनकाई हस्पिटल बिर्तामोडका अध्यक्ष युवराज डाँगीले कनकाई हस्पिटलले बाथ रोगको उपचार गराउन थालेकाले  वढी भन्दा वढी लाभ लिन बाथ रोगका विरामीलाई आग्रह गरे ।