बिर्तामोड । तपाईं एक सय रुपैयाँले के गर्नुहुन्छ? मिठा मिठा खानेकुरा किनेर खानुहुन्छ होला ? तर , त्यो एक सय रुपैयाँ कसैको जीवन बचाउन काम लाग्छ भन्ने कुरा  मेची महाकाली बुहारी संयुक्त आवाज नामक संस्थाले  चरितार्थ गरेको छ । मेची महाकाली बुहारी संयुक्त आवाजले  मासिक एक सय रुपैयाँ बचत गरेर जीवन र मृत्युको दोसाँधमा रहेका व्यक्तिहरुको जीवन बचाउँदै आएको छ । गत फागुन महिनादेखि मासिक एक सय रुपैयाँ बचत अभियान सञ्चालन गर्दै आइरहेको संस्थाले हालसम्म जीवन र मृत्युको दोसाँधमा रहेका बिभिन्न व्यक्तिहरुको जीवन बचाउँदै आएको संस्थाकी नवनिर्वाचित अध्यक्ष चन्द्रा काफ्लेले बताइन् । 

संस्थाकी परिकल्पनाकार तथा निवर्तमान केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वाको परिकल्पनामा शुरु भएको मासिक एक सय रुपैयाँ बचत अभियानले धेरैको चहर्याईरहेको घाउमा मल्हमपट्टि गरेको उनले बताइन् । 

 यसैक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजले  झापा अर्जुनधारा –२ साठ्ठीमुरेका शेरबहादुर सिजाली मगरको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

बिगत तीन महिनादेखि बिरामी अवस्थामा रहेका मगरको उपचारकालागि मेची महाकाली बुहारी संयुक्त आवाजले भदौ महिनामा मासिक एक सय रुपैयाँ बचत अभियानमार्फत संकलन भएको  १५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रा काफ्ले, झापा जिल्ला सहसंयोजक गंगा भट्टराई, झापा जिल्ला सदस्यहरु प्रमिला उप्रेती र रोशनी खनाल अधिकारीलगायतको टोलीले  अर्जुनधारा–२ साठ्ठीमुरेस्थित शेरबहादुर सिजाली मगरको घरैमा पुगेर उनकी आमा ९३ बर्षीया  रनमाया सिजालीलाई उक्त रकम प्रदान गरेको थियो  ।

आर्थिक अभावका कारण उपचारमा समस्यामा परेको खबरखेती डटकम मार्फत आफुहरुले थाह पाएपछि  मगर परिवारलाई उक्त रकम प्रदान गरेको  संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रा काफ्लेले बताइन् ।  

कार्यक्रममा सहभागी अर्जुनधारा वडा नं २ की बडासदस्य तथा नगर न्यायिक समितिकी सदस्य शर्मिला सुब्बाले मेची महाकाली बुहारी संयुक्त आवाजले मगर परिवारलाई आर्थिक सहयोग गरेर पुण्यको काम गरेको बताइन् । 

 मगर परिवारको उपचार तथा रेखदेखमा सहयोग गरिरहेका मगरका आफन्त रोम समाल मगर, सञ्चारकर्मी तथा खबरखेती डटकमका सम्पादक तिलक योञ्जनलगायतले  मेची महाकाली बुहारी संयुक्त आवाजले मगर परिवारलाई गरेको आर्थिक सहयोगले उपचारमा ठूलो मद्यत पुग्ने बताए । 

 शेरबहादुर विगत तीन महिनादेखि उच्च रक्तचापका कारण ढलेपछि  उनको देब्रे पट्टिको शरिरको भाग नचल्ने अवस्थामा रहेको छ भने उनी कसैको साहरा बिना उठ्न–बस्नै नसक्ने अवस्थामा रहेका छन् भने उनकी आमा रनमाया पनि  विगत केही बर्षदेखि अशक्त अवस्थामा रहेकी छिन् । २ छोरा,  श्रीमती  र आमाको मुख्य सहारा नै थला परेपछि मगर परिवारमा  स्वास्थ्य समस्यासंगै आर्थिक संकट चुलिएको छ ।

अरु कसैको साहरा बिना उठ्न–बस्नै नसक्ने अवस्थामा रहेका शेरबहादुरलाई  चिकित्सकले स्वास्थ्यमा सुधार ल्याउन राम्रोसंग थेरापी गर्नुपर्ने बताएपछि  उपचारकोलागि मोरङको जातेमा राखिएको उनकी श्रीमती पुष्पादेवि समाल मगरले बताइन् । 

शेरबहादुर थला परेपछि आर्थिक अभावकै कारण परिवारले उनको राम्रो उपचार समेत गराउन समेत नसकेको उनले बताइन् ।  आफ्नो जेठो छोरा सन्तोष  डिप्रेसनको रोगी भएको तथा  कान्छो छोरा सुमन मृगौला रोगी भएको र आफूपनि बिरामी रहेको उनले बताइन् । घरका सबै बिरामी रहेको र कमाएर ल्याउने कोही  नहुँदा चरम आर्थिक कष्टमा बाचिरहेको उनले बताइन् । 

 कान्छा छोराको उपचारमा विगतमा घर गाउँले र साहारा नेपाल सहकारीसंग लिएको ऋण अझै तिर्न नसकेको , अहिले अरु  संघ–संस्थाबाट आएको सहयोगले बिरामीको उपचार गर्दै आइरहेको उनले बताइन् ।   आफूले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको बताउँदै आर्थिक सहयोग गरेर आफूहरुलाई बचाउन उनले सबैलाई आग्रह गरिन् । 

साधारण बासको टाटी–बेराले बनेको घरमा बसेका मगर परिवारसंग, न सुत्ने खाट छ न त प्रर्याप्त लत्ताकपडा र खानेकुरा । आर्थिक अभावकै कारण राम्रोसंग उपचार गराउन नसकेका उनीहरुलाई आर्थिक सहयोग गरी पुण्यको भागी वन्न मगरका आफन्त रोम समाल मगरले सबैलाई आग्रह गरेका छन् ।