बिर्तामोड। झापा गोल्डकपको आयोजनामा जारी ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को फाइनलमा मछिन्द्र फुटबल क्लब पुगेको छ।
बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ० का विरुद्ध ४ गोल गर्दै मछिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।
मछिन्द्र फुटबल क्लबका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक र मछिन्द्रका खेलाडी रेजिन सुब्बाले एक गोल गर्दा मछिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।
मछिन्द्र फुटबल क्लबका तर्फबाट खेलको चौथो मिनेटमै जोनाथन जोरिल्लाले गोल गरे । खेलको २४ औँ मिनेटमा मछिन्द्र फुटबल क्लबले पाएको पेनाल्टीमा जोनाथन जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै दोस्रो गोल गरे ।
खेलको ५२ मिनेटमा जोनाथन जोरिल्लाले अर्काे गोल थपेर ह्याट्रिक गरेका थिए ।
खेलको अतिरिक्त समयमा मछिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एक गोल थपेर मछिन्द्र फुटबल क्लबलाई फाइनलमा पुर्याउन सफल भएको झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जनले बताए।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्र फुटबल क्लबका जोनाथन जोरिल्ला घोषित भएर उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच उपाधीका लागी आमने सामने हुने झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जनले बताए।
प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट एक जनालाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले ३२ इञ्चको हिमस्टार एलइडी टिभी प्रदान गरिरहेको महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीले बताए।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर फुटबल हेर्ने एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने उनले बताए। त्यस्तै विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।
यसैबीच पत्रकार रमेश समदर्शी राईलाई झापा गोल्डकप प्रतियोगिता सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ। त्यस्तै विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए।




















