बिर्तामोड। झापा गोल्डकपको आयोजनामा जारी ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ ।
बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै मछिन्द्र फुटबल क्लबले उपाधि हात पारेको हो ।
खेलको ३१ औँ मिनेटमा मछिन्द्र फुटबल क्लबका स्ट्राइकर प्रदिप बुढाथोकीले गोल गरेका थिए । पहिलो हाफको ४५ औँ मिनेटमा मछिन्द्र फुटबल क्लबका फ्रयाङक अनोहले दोस्रो गोल गर्न सफल भएका थिए । खेलको ८३ औँ मिनेटमा मछिन्द्र फुटबल क्लबका डिफेण्डर अलिसन अलिजोनोभले तेस्रो गोल गर्न सफल भए ।
खेलको ८२ औँ मिनेटमा एपिएफ फुटबल क्लबका दिपेश धिमालले एक गोल गरे ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्र फुटबल क्लबका प्रदिप बुढाथोकी घोषित भएर उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएको झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जनले बताए। मछिन्द्र फुटबल क्लबले उपाधिसँगै नगद १५ लाख रुपैयाँ , ट्रफी, मेडल प्राप्त गरेको तथा उपबिजेता एपिएफ फुटबल क्लबले ७ लाख ५० हजार रुपैयाँ,ट्रफी, मेडल प्राप्त गरेको उनले बताए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्र फुटबल क्लबका पेमा तामाङ भएर उनले यामाहा कम्पनीको एकथान मोटरसाइकल पाए ।
त्यसैगरी बेष्ट गोलकिपर मछिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ, बेष्ट कोच मछिन्द्र फुटबल क्लबका प्रवेश कटवाल, हाई स्कोरर मछिन्द्र फुटबल क्लबका जोनाथन जोरिल्ला भए । उनीहरुले जनही ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए। प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एकथान स्कुटर प्राप्त गरेको उनले बताए। प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट एक जनालाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले ३२ इञ्चको हिमस्टार एलइडी टिभी प्रदान गरिरहेको महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीले बताए।
झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष गिरी , प्रमुख अतिथी अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगर पालिकाकी नजर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, किंग्सबेरी इन्टरटेन्मेन्टका जानु धिताल र जमुना धिताल, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतले बिजेता तथा उपबिजेतालाई पुरस्कार बितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए।




















