बिर्तामोड । जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा झापाको गौरादहमा १६ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सोमबारबाट शुरु भएको छ ।
गौरादहस्थित जनता माविको खेलमैदानमा शुरू भएको प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए।
जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका १४ वटै जिल्लामा आगामी वर्षदेखि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा खेलाडीको रुपमा खेल क्षेत्रमा पदार्पण गरी पछि प्रशिक्षकको रुपमा खेल क्षेत्रमा योगदान पुर्याउदै अवकाश प्राप्त गर्ने तेक्वान्दो प्रशिक्षक हरिबहादुर भुजेल र एथलेटिक्स प्रशिक्षक गोपाल यादव, एथलेटिक्सबाट विश्वमा नेपालको पहिचान बनाउन सफल अल्ट्राधाविका पुष्पा शेर्मा, झापामा पहिलो पटक महिला गोल्डकप आयोजना गरेर महिला फुटबलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा तथा संस्थागत रुपमा झापा उद्योग वाणिज्य सङ्घलाई अध्यक्ष भण्डारी, प्रमुख अतिथि मुख्यमन्त्री कार्की, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए।
कार्यक्रममा अध्यक्ष भण्डारीले स्वागतसहित प्रतियोगिताको बारेमा जानकारी गराउँदै पर्याप्त बजेटको व्यवस्था नभइरहेको अवस्थामा गौरादह नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएर प्रतियोगिता सम्पन्न गर्न हौसला प्रदान गरेको बताए।
फागुन ६ गतेसम्म सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीहरूले १ सय २० स्वर्ण, १ सय २० रजत र २ सय ४० कांस्य पदकका लागि विभिन्न ६ विधामा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए । सोमबार प्रतियोगिताको उद्घाटनसँगै भलिबल, कबड्डी र मार्सल आर्टका खेलहरू सञ्चालन भएको उनको भनाइ छ।
जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा सञ्चालन भएको १६ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीहरूले कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति झापाका सदस्य तथा प्रवक्ता जगन कार्कीले जानकारी दिए । कार्यक्रमको सञ्चालन गौरीगञ्ज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् पूर्व खेलाडी दीपेन्द्र थापा र कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए।




















