बिर्तामोड। १६ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ ।
  झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा गौरादहस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा १४ वटा पालिकालाई पछि पार्दै अर्जुनधारा नगरपालिकाले उपाधि हात पारेको हो ।
   उपाधि हात पारेसंगै अर्जुनधारा नगरपालिका झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको चौथो च्याम्पियन बनेको हो।
   अर्जुनधारा नगरपालिका २२ स्वर्ण ५ रजत र १४ कास्य पदकसहित प्रथम, दमक  नगरपालिका १४ स्वर्ण १४ रजत र ५ कास्य पदकसहित दोस्रो र  बिर्तामोड  नगरपालिका  ७ स्वर्ण १० रजत ८ कास्य पदकसहित तेस्रो भएको  झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए।

प्रतियोगितामा समान ४/४ स्वर्ण पदक जितेका बाहदशी गाउँपालिकाका सुवोध थापा र बिकी राजवंशी उत्कृष्ट खेलाडी घोषित भएको उनले  बताए ।
  झापा जिल्लाभित्रका १५ वटा पालिकाका माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट छनौट भएर आएका १८ वर्ष मुनिका खेलाडी विद्यार्थीहरूले १२० स्वर्ण, १२० रजत र २४० कांस्य पदकका लागि  प्रतियोगितामा भलिबल ,कबर्डी,२ सय देखि ३ हजार मिटर सम्मका दौड ,रिले दौड , हाइजम्प, लङ्जम्प,ज्याबलिङ थ्रो ,सटफुट लगायतका खेलमा खेलाडी छात्र तथा छात्रा खेलाडीले एकल तथा सामुहिक स्पर्धामा प्रतिस्पर्धा गरेको  उनले बताए।

   जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षता तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
   कार्यक्रममा नगर प्रमुख सुवेदीले खेल मैदानको अभाव भएपनि १६ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि  सुखदुःखका साथ सफलतापूर्वक सम्पन्न गरेकोमा झापा जिल्ला खेलकुद विकास समितिको प्रशंसा गरेका थिए।
   उनले विद्यालयमा प्रतिस्पर्धा गर्दै पालिका हुॅदै जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले प्रदेश तथा राष्ट्रिय प्रतियोगिता हुॅदै अन्तर्राष्ट्रियस्तरमा देश चिनाउने भन्दै सफलताको बधाई सहित शुभकामना दिएका थिए ।
   कार्यक्रममा १६ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आर्थिक तथा संयोजक पालिकाको रुपमा गौरादह नगरपालिकालाई प्रतियोगिता सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आयोजक झापा जिल्ला खेलकुद विकास समितिले गौरादह नगरपालिकालाई कदर पत्र समेत प्रदान गरेको थियो ।
   कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ,  गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी,  अर्जुनधारा नगरपालिकाका उप-प्रमुख खडगमाया पराजुली ,गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी,गौरादह नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा अंवडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र निरौला, गौरादह नगरपालिकाको शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख विदुर आचार्यलगायतले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए।
   १७ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हल्दिवारी गाउँपालिकामा हुने जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले बताए।
    कार्यक्रमको सञ्चालन पूर्व राष्ट्रिय खेलाडी एवं गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपिन्द्र थापाले गरेका थिए ।