बिर्तामोड । झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा ‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ शुरु भएको छ । 

प्रमुख कथावाचक ईश्वरकृष्ण जी महाराजको सानिध्यमा बाह्दशी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, विश्व हिन्दू महासंघ बाह्दशीका पदाधिकारी, झापा जिल्लाका सम्पूर्ण गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ता  भजन किर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री , विद्यार्थीलगायत तीन हजारभन्दा वढीको सहभागितामा निस्किएको शोभायात्राले बाह्रदशीका बिहिबारे बजारलगायत विभिन्न स्थानको  परिक्रमा गरी धार्मिक महामहोत्सव स्थल प्रवेश गरेको थियो । 

श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव यज्ञ सम्पादन मूल समितिका संयोजक ज्ञानु सुवेदीको अध्यक्षता तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यज्ञ सम्पादन मूल समितिका सहसंयोजक जीवन पनेरुले स्वागत गरेका थिए ।

‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’को उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्दै झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्न तथा यस क्षेत्रमा सञ्चालित गुरुकुलको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आफू यस क्षेत्रको स्थानीय समेत भएकाले कन्चनगढधाम साधुकुटीलाई आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन आफूले सरकारको ध्यानाकर्षण गराएर सहयोगको लागी पहल गर्ने उनले बताए । 

कार्यक्रममा  यज्ञ सम्पादन मूल समितिका संयोजक ज्ञानु सुवेदीले औचित्यमाथी प्रकाश पार्दै झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्ने, गुरुकुल बचाउने , धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले  ‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ आयोजना गरिएको बताए ।

हालसम्म मुष्ठीदान, विभिन्न धार्मिक अनुष्ठानमा गरिएको धान्याचल महायज्ञबाट संकलित धान, चन्दादाता र महर्षी वैदिक फाउण्डेशनको सहयोगले सञ्चालन हुँदै आएको गुरुकूल पछिल्लो समय बढ्दै गएको महंगीका कारण खर्च बढेकाले सञ्चालन गर्न समस्या भएकाले गुरुकुललाई बचाउन श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवको आयोजना गर्नुपरेको सुवेदीले बताए ।

हाम्रो गुरुकुलीय परम्परा नै पुर्विय सभ्यता बचाउने परम्परा भएकाले  पुर्वीय संस्कार र संस्कृति जोगाउन गुरुकुलहरु जोगाउनै पर्ने अवस्था रहेकाले आफूहरु श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजना गर्न वाध्य भएको बताउँदै उनले यस पुण्यकार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।

संस्थाको २४ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १६ औं वार्षिकोत्सव अन्तर्गत  श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजना गरिएको बताउँदै सुवेदीले गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलको हालसम्म कुनैपनि अक्षयकोष नरहेकाले खर्च जुटाउन समस्या भएकाले  गुरुकुल बचाउन अक्षयकोष स्थापनार्थ, अन्न क्षेत्रका लागी धान तथा जिन्सी संकलन गर्नका लागी श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवको आयोजना गरिएको जनाए ।

उनले श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवमार्फत संकलन गरिएको धान तथा जिन्सीले गुरुकुल बचाउन मद्यत पुग्ने भएकाले यस पुण्य कार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख कथाबाचक  ईश्वरकृष्ण जी महाराजले पछिल्लो समय आर्थिक अभावले गुरुकुलहरु समस्यामा परेकाले गुरुकुललाई बचाउन सबै जुट्नुपर्ने बताए ।

झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको बाह्रदशी श्रीमद्भागवतको आठौं स्कन्धमा समेत समाबिष्ट ठाउँ भएकाले यसको विशेष महत्व रहेको बताउँदै उनले यस पुण्यभूमिमा आएर श्रीमद्भागवतको कथा बाचन गर्न आफूले सौभाग्य प्राप्त गरेको जनाए ।

गुरुकुल बचाउन सरकारले सहयोग नगरेकाले गुरुकुल बचाउन तथा हिन्दू धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न आफूहरु लागीपरेको बताउँदै उनले  झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल बचाउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  ‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ सफलताको शुभकामना सन्देश पठाएको जानकारी दिइयो । 

 स्वर्गीय माता पिता हरिलालं मनमाया दास लगायत सम्पुर्ण पितृहरुको पुण्य स्मृतिमा बाह्रदशी–६, साधुकुटी हाल काठमाडौ निवासी छोरा बुहारी मुक्तिनाथ ंपम्फा बराइली दास, नाती नातिनी बुहारी मनिषं इतिश्री घिमिरे दास,  प्रभातं सुनिला सापकोटा दास लगायतले प्रदान गरेको एक लाख रुपैयाँ मूल्य बराबरको शिवको मुर्ती कार्यक्रमका प्रमुख अतिथि घिमिरे र प्रमुख कथाबाचक ईश्वरकृष्ण जी महाराजले कञ्चनगढधाम साधुकुटी परिसरमा प्रतिस्थापनसहित अनावरण गरेका थिए । 

त्यस्तै  सुरुङ्गा निवासी देवी तिम्सिनाले आफ्ना पितृहरुको नाममा कञ्चनगढधाम साधुकुटी परिसरमा निर्माण गरिदिएको भक्तिमाया कुञ्ज गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलका अध्यक्ष ज्ञानु सुवेदीलाई  हस्तान्तरण गरेका थिए ।

कञ्चनगढधाम साधुकुटी परिसरमा निर्माणाधिन पुष्प वाटिकामा  स्थानीय तुलसी पाण्डेले सौजन्य गरेको पुुष्प रोपण कार्य पनि  सुुरुवात गरिएको थियो।

कार्यक्रममा शिवको मुर्ती दाता मुक्तिनाथ दास र भक्तिमाया कुञ्ज निर्माणकर्ता देवी तिम्सिनालाई प्रमुख अतिथि घिमिरे र प्रमुख कथाबाचक ईश्वरकृष्ण जी महाराजले सम्मान गरेका थिए ।

कार्यक्रममा पञ्चमणी माध्यमिक र मिनिमाउण्टेन अंग्रेजी स्कुलका विद्यार्थीले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश साँसद छबी चुडाल, बाह्दशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईं, उपाध्यक्ष शान्ता शिवाकोटी, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन , पूर्व साँसद हरिबहादुर राजवंशी, शंकराचार्य पीठ साधुटारका आचार्य लक्ष्मीप्रसाद खतिवडालगायतको आतिथ्य रहेको थियो । 

बालाचतुर्दशीको अवसर पारेर आगामी मंसीर १८ गते देखि २६ गते सम्म सञचालन हुने श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवको समापन संघीय साँसद राजेन्द्र लिङ्देनले गर्ने यज्ञ सम्पादन मूल समितिका महासचिव पुष्प भट्टराईले  जानकारी दिए । महामहोत्सव अन्तर्गत मंसीर २३ गतेदेखि २५ गतेसम्म परापुर्वदेखि लाग्दै आएको कन्चन जलढाला धार्मिक वृहत मेला लाग्ने उनले जानकारी दिए।

कार्यक्रमको सञ्चालन संचार विभाग प्रमुख दिपेन्द्र खरेलले गरेका थिए ।

महोत्सवमा सहभागी हुन बिभिन्न स्थानबाट झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा पुग्नेको संख्या बढ्न थालेको छ ।

कन्काई माईदेखि १० कि.मि पुर्व, चन्द्रगढीबाट २० कि.मि पश्चिम ,महेन्द्र राजमार्ग  चारपानेबाट ७ कि.मि दक्षिण तथा चारकोशे जङ्गल बाट १४ कि.मि उत्तरमा रहेको बाह्रदशी , कञ्चनढधाम , साधुकुटी पुग्न सकिन्छ ।

‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’सफल बनाउन  गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम, कञ्चनढधाम , साधुकुटीझापालाई धार्मिक तथा समाजसेवी व्यक्तित्व विर्तामोड– चारपाने निवासी फर्निचर व्यवासायी सन्तोषकुमार खरेल(रमेश)ले १५ हजार मूल्य बराबरको एक थान पोडियम र २ थान दान पेटिका प्रदान गरेको बताइएको छ । 

‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ अन्तर्गत मंगलबारबाट प्रमुख कथावाचक ईश्वरकृष्ण जी महाराजले श्रीमदभागवत गरिरहने छन् ।