बिर्तामोड । द हिडन ट्रेजरले आयोजना गरेको सौन्दर्य प्रतियोगिता ’मिस नेपाल २०२४’ को अडिसन झापाको बिर्तामोडमा हुने भएको छ ।

गत शुक्रबार भरतपुरबाट सुरु भएको ’मिस नेपाल २०२४’ को अडिसन झापाको बिर्तामोडमा आइतबार हुने भएको आयोजक संस्था द हिडन ट्रेजरले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जनाएको हो ।

बिर्तामोडको होटल सिद्धार्थ ग्राण्डसिटीमा आइतबार हुने अडिसनमा सहभागी हुन ईच्छुकलाई हिडन ट्रेजरका डाइरेक्टर  गिरेन्द्रमान राजवंशीले  आग्रह गरे ।

आइतबार रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको संयोजनमा बिर्तामोडमा ’मिस नेपाल २०२४’ को क्षेत्रिय अडिसन हुने बताउँदै उनले शनिवार स्पोन्सर प्रोमोसन तथा अभिमुखीकरण कार्यक्रम रहेको जनाए ।

देशका प्रमुख सहरमा अडिसन गरिरहेको हिडन ट्रेजरले प्रतियोगितालाई फराकिलो बनाउँदै यसपटक बिर्तामोड, ईटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र अन्त्यमा काठमाण्डौंमा अडिसन गर्ने तयारी रहेको बताउँदै उनले इच्छुक सहभागीका लागि आवदेन जेष्ठ १ गते सम्म खुल्ला रहने भएकाले सहभागी हुन आग्रह गरे ।

बिर्तामोडमा हुने क्षेत्रीय अडिसनमा मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान र मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल जजको रुपमा सहभागी हुने उनको भनाई छ ।

मिस नेपाल २०२४ का लागि न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ वर्षदेखि २७ वर्षका कक्षा १२ उत्तीर्ण अविवाहित नेपाली नागरिकतासहित इच्छुक युवतीले आवेदन दिन सक्ने बताउँदै उनले प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क नतिनुपर्ने जानकारी दिए ।

’मिस नेपाल २०२४’ मा सहभागी हुन अहिले आवेदन चलिरहेको र जेठ १ गतेसम्म इच्छुक युवतीले आवेदन दिन सक्ने बताउँदै उनले  निःशुल्क रुपमा  मिस नेपालको वेबसाइट र एपमार्फत आवेदन दिन सकिने  जनाए ।

यस वर्षको मिस नेपाल प्रतियोगितामा ३ विधा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलमा प्रतिस्पर्धा गराइने उनले बताए। 

बिर्तामोड अडिसन अन्र्तगत शनिबार दिउँसो होटल सिद्धार्थ ग्राण्डसिटीमा अडिसनमा सहभागीहरुलाई अभिमुखिकरण दिइने र भोलीपल्ट आइतबार विहान ९ बजेदेखि बिर्तामोड अडिसन हुने बिर्तामोड अडिसनका कोअर्डिनेटर तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवालले बताए ।

  प्रतियोगितामा सहभागी हुन कुनैपनि शुल्क नलाग्ने भएकाले अडिसनमा भाग लिएर प्रतिस्पर्धामा सहभागी हुन योग्य र इच्छुक युवतीलाई  उनले आग्रह गरे ।

बिर्तामोडअडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले १८ मे मा काठमाडौंमा अडिसनमा सहभागी हुन पाउँने र अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिने उनले बताए ।

प्रशिक्षण पश्चात आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा हुने मिस नेपाल २०२४ को ग्राण्ड फिनालेमा उनिहरुले उपाधीका लागी प्रतिष्पर्धा गर्ने जानकारी दिए ।

कार्यक्रममा   मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान र मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले आफ्नो अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे । उनीहरुले ’मिस नेपाल २०२४’ लाई अवसरको रुपमा लिएर आफ्नो व्यक्तित्व विकास र सशक्तीकरणको लागि यस्ता  प्लाटफर्मको सदुपयोग गर्न आग्रह गरे ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट सिद्धार्थ नविन उप्रेतीले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन हिडन ट्रेजरका डाइरेक्टर  गिरेन्द्रमान राजवंशीले गरेका थिए ।