बिर्तामोड । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिर्तामोड नगरकमिटीको आयोजनामा सरसफाई कार्यक्रम गरिएको छ  ।

 ‘ सामाजिक सुरक्षा मर्यादित रोजगार, सौन्दर्यकर्मी श्रमिकको अधिकार ’ भन्ने नाराका साथ बिर्तामोडको मुक्तिचौकमा रहेको दुर्गामन्दिर परिसर सरसफाई गरिएको राष्ट्रिय  सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य तथा आर्थिक सचिव धनकुमारी कन्दङवा इङनामले बताइन् । 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिर्तामोड नगरकमिटीको आयोजना तथा समुदाय–प्रहरी साझेदारीको सहकार्यमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी , इलाका प्रहरी कार्यालयका जनपद प्रहरी , जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीलगायतले सरसफाई गरेका थिए । उनीहरुले मन्दिर र वरपर रहेका फोहरलाई सङ्कलन गरी व्यवस्थापन समेत गरेका थिए । 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जीफण्टकी केन्द्रीय उपमहासचिव कमला तामाङ, क्युपेक नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष अम्बीर लिङ्देन,  राष्ट्रिय  सौन्दर्यकर्मी युनियन नेपालकी प्रदेश कमिटी अध्यक्ष आशा लिम्वूलगायतले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिर्तामोड नगरकमिटीले दुर्गामन्दिर परिसर सरसफाई गरेर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएकोमा खुशी व्यक्त गरेका थिए ।

राष्ट्रिय  सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य तथा आर्थिक सचिव धनकुमारी कन्दङवा इङनामले बिर्तामोडको मुक्तिचौकमा रहेको दुर्गामन्दिरलाई स्वच्छ राख्न सरसफाई गरिएको बताउँदै कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यबाद व्यक्त गरिन् ।