बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–१स्थित श्री शंकराचार्यपीठ वेदबेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशाला साधुटारमा श्रीलिङ्गमहापुराण  शुरु भएको छ ।

श्री शंकराचार्यपीठ स्थापनाको ४८औं बार्षिकोत्सवको अवसर पारेर आगामी माघ १ गतेदेखि ११ गतेसम्म श्रीलिङ्गमहापुराण पाठ कथा प्रवचन आत्मशान्ती महारुद्रात्मक एकादशाह विराट ज्ञान महायज्ञ सञ्चालन भइरहेको श्री शंकराचार्यपीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

स्वधर्म जागरण ,आध्यात्म प्रचार , दैनिक रु. १ दान ११ करोडको अक्षयकोष स्थापना महाअभियान बिस्तार, गुरुकुल संरक्षण ,  गुरुकूल अध्ययनरत् बटुकहरुका लागि लगाउने र खानाको व्यवस्था, गौशाला सुदृढ व्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहारको व्यवस्था र संस्थाको सर्वाङ्गिण विकासको उद्देश्यले महायज्ञको  आयोजना गरिएको उनले बताए ।

१०८ स्वामी विजयानन्द सरस्वतीजी महाराजको सान्निध्यमा भइरहेको श्रीलिङ्गमहापुराण पाठ कथा प्रवचन आत्मशान्ती महारुद्रात्मक एकादशाह विराट ज्ञान महायज्ञमा आचार्य सोमनाथ गौतमको प्रमुख कथाब्यास र  उपव्यास पं काशीनाथ न्यौपानेको रहेको उनले बताए । 

 श्री शंकराचार्यपीठ वेदबेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशाला साधुटारमा यज्ञशाला, शिवालय, प्रतिक्षालय, पाठशाला, बिद्यालय भवन निर्माण भइसकेको र पुस्तकालय निर्माणाधीन रहेको व्यासाचार्य खतिवडाले जानकारी दिए । ५ बिगाह क्षेत्रफलमा रहेको पीठमा ७५ जना बटुक, ४ जना शिक्षक रहेका छन् भने गौशलामा २२ वटा गाईबाछा रहेको उनले बताए ।

२०३३ सालमा उक्त स्थानमा बिद्यालय नभएको अवस्थामा आफ्ना  बुबा केदारनाथ खतिवडाले भविष्यमा गुरुकुलको आवश्यकता महशुस गरेर श्री शंकराचार्य पीठको स्थापना गरेको बताउँदै उनले श्री शंकराचार्यपीठ वेदबेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशाला  दाताहरुको सहयोगले सञ्चालन हुँदै आएको जनाए ।

बिर्तामोड नगरपालिकाबाट १३ किलोमिटर उत्तरमा पर्ने अर्जुनधारा –१ स्थित साधुटारमा रहेको श्री शंकराचार्यपीठ वेदबेदाङ्ग संस्कृत पाठशाला  पछिल्लो समय संस्कृति र सभ्यताको जगेर्ना गर्ने संस्कृत पाठशाला  बनेको छ । गुरुकुलीय पद्दतिबाट अध्ययन अध्यापन गराइने पाठशालमा अहिले एकसय ३५ जना विद्यार्थी अध्ययनरत् रहेका छन् । मुष्ठीदानबाट सञ्चालित उक्त पाठशालामा  चार जना शिक्षकले संस्कृत भाषामा शिक्षा दिन्छन् । कक्षा दशसम्म अध्ययन अध्यापन गराईएपनि सरकारी तवरबाट उक्त विद्यालयलाई कुनै सहयोग नभएको  व्यासाचार्य खतिवडाले बताए । 

मेचीदेखि महाकालीसम्मका विद्यार्थी एउटै छानामुनी अध्ययनरत् रहेको उक्त पाठशालामा भारतको आसाम र मणिपुरबाट पनि आएका विद्यार्थीले पनि गुरुकुलिय शिक्षा अध्ययन गरिरहेको उनले बताए ।   संस्कृत मात्र पढाई हुने यस पाठशालामा ‘संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए हामी नै हराउँछौं’ भन्ने कुरा बुझेकाहरु पढ्न आउने गरेको उनको भनाइ छ । 

श्री शंकराचार्यपीठ वेदबेदाङ्ग संस्कृत पाठशाला  सञ्चालनका लागि आर्थिक समस्या नहोस् भन्दै हरेक वर्ष आफूहरुले  महायज्ञको आयोजना गर्दै आएको र यसवर्षपनि माघ १ गतेबाट श्रीलिङ्गमहापुराण पाठ कथा प्रवचन आत्मशान्ती महारुद्रात्मक एकादशाह विराट ज्ञान महायज्ञ  आयोजना गरिएको जानकारी दिए । महायज्ञमा जिल्लाका विभिन्न दाता तथा जिल्ला वाहिरका पनि दाताको सहयोग रहने अपेक्षा गरिएको उनले बताए ।

यसैबीच एक कार्यक्रमका बीच श्रीलिङ्गमहापुराण पाठ कथा प्रवचन आत्मशान्ती महारुद्रात्मक एकादशाह विराट ज्ञान महायज्ञको उद्घाटन गरिएको छ ।  श्री शंकराचार्यपीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको अध्यक्षता तथा व्यासाचार्य किशोरकुमार गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्री शंकराचार्यपीठका वरिष्ठ उपाध्यक्ष शान्तीराम नेपालले स्वागत गरेका थिए ।

 प्रमुख अतिथि व्यासाचार्य किशोरकुमार गौतमले दिप प्रज्जवलन गरी उद्घाटन गरेको महायज्ञको गल्ला तथा रसिद उद्घाटन दाता नेत्रप्रसाद पौडेलले एक लाख ५१ हजार रुपैयाँको चेक प्रदान गर्दै गरेका थिए ।

पाठशालामा अध्ययनरत् एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनले एक विद्यार्थी एक अभिभावकका लागी अक्षयकोषमा उक्त रकम प्रदान गरेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा आचार्य छन्दुराम भण्डारीले २०५४ सालमा आयोजित विराट शन्त सम्मेलनमा जगतगुरु शंकराचार्य महाराजले यस पाठशालालाई नेपालकै पहिलो शंकराचार्यपीठ भएको घोषणा गरेको बताउँदै  साधुटार भौगोलिक हिसावले दुर्गम ठाउँमा रहेता पनि आध्यात्मिक हिसावले  असाध्यै सुन्दर रहेको जनाए । 

पीठका सल्लाहकार समितिका संयोजक डा. गोपीकृष्ण खतिवडा, सिंहदेवी माविका प्राचार्य लक्ष्मी रिजाल, हचुमासा सामुदायिक वनकी सचिव प्रभा नेपालले महायज्ञ सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, अर्जुनधारा –१ का वडाध्यक्ष उपेन्द्र बस्नेतलगायतले श्री शंकराचार्यपीठ वेदबेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशाला साधुटारलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने बताउँदै त्यसका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको सञ्चालन श्री शंकराचार्यपीठका महासचिव हरीप्रसाद नेपालले गरेका थिए ।