बिर्तामोड ।  झापाको शिवसताक्षी १० माइधारमा किराँत खिजोलुङ माङहिमको प्राङ्गणमा किराँतीहरुको महान चाड कोक्फेवा तङ्नाम यले सम्वत ५०८४ को अवसरमा विविध कार्यक्रम गरिएको छ ।

किराँत खिजोलुङ माङहिमको  २७ औं वार्षिकउत्सवको  अवसरमा किराँत धर्म तथा साहित्य उत्थान संघ झापा एवं किराँत खिजोलुङ जिल्ला माङहीमको संयुक्त आयोजनामा दुई दिवसीय कार्यक्रम अन्तर्गत  पौष ३० गते शनिवार कनकाई माईमा साक्मुरा वादेम्मा (गाली श्राप) बगाएर अष्ट यज्ञ (येत लाघुङ सेमी) सेवा कार्यक्रम सम्पन्न गरी कनकाई माइको पश्चिमी किनारमा लागेको मेला परिक्रमा गरेको किराँत धर्म तथा साहित्य उत्थान संघ झापका सहसचिव विचारी लावतीले जानकरी दिए । 

त्यस्तै माघ १गते माङहीम परिसरमा किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङको सभापतित्व तथा  शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा(रोशन) को प्रमुख आतिथ्यमा विशेष कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा पालम,ख्याली, हाक्पारे,याःलाङ, केलाङ माङलाङ, मुर्चुङ्गा, विनायो,च्याबु्रङ, साकेला जस्ता विविध साँस्कृतिक प्रस्तुती सम्पन्न भएको खिजोलुङ माङहीमका अध्यक्ष भवानी विक्रम सेलिङले जानकारी दिए । धान नाचमा नगर प्रमुख थोप्रा सरिक हुँदा उपस्थितहरुले चाख लिएर सहभागि भएका थिए । कार्यक्रममा गायिका मनिता सुववाले लिम्वू गीत प्रस्तुत गरेकी थिइन् । 

खिजोलुङ माङहीमका अध्यक्ष भवानी विक्रम सेलिङले स्वागत गरेको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा(रोशन) , संस्थाका पुर्व राष्ट्रिय अध्यक्ष चन्द्रप्रसाद योङ्या, लगायतले शुभकामना दिएका थिए । 

कार्यक्रममा  जग्गा व्यवस्थापन, अतिथि सत्कार भवन निर्माणका लागी आर्थिक सहयोग गर्ने , केलाङ, धान नाच प्रस्तुत गनेै ४८ जनालाई सम्मानपत्र प्रदान गरिएको थियो । 

औपचारिक कार्यक्रमको संचालन किराँत धर्म तथा साहित्य उत्थान संघ झापका सहसचिव विचारी लावतीले गरेको सहसचिव हर्कप्रसाद येक्तेनले जानकारी दिए ।