बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मेघराज बास्तोलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संस्थाले पाइप लाइन विस्तार, पुरानो पाइप लाइनमा नयाँ पाइप नेटवर्किङ गर्ने, खानेपानीको महसुल समायोजन गर्दे लाने, संस्थाको गतिविधिलाई डिजिटल प्रणालीमा लैजाने, पानीको माग बढेकाले बसपार्क क्षेत्रमा एउटा ओभरहेड टङ्की निर्माण गरी अत्याधुनिक डिप बोरिङ जडान गर्ने, सेवा पुर्याउन नसकेको बिर्तामोड क्षेत्रका सबै स्थानमा पानी वितरण सेवा विस्तार गर्ने, संघ संस्थाहरूसँगको सहकार्यमा सार्वजनिक धारा जडान गर्ने, बिर्तामोड –३ स्थित सैनिक मोड, विराटपोखर क्षेत्रमा जग्गा खोजी गरि अर्को योजना निर्माण गर्ने, हाललाई बिर्तामोड मुक्तिचोकमा वाटर एटिएम स्थापनामा लागि सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने लगायत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले खानेपानी वितरण प्रणालीलाई द्रुत गतिमा अघि बढाउने उद्देश्यले १४ करोड ऋण लिएर विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हाल संस्थाले उक्त ऋण तिर्दै आउँदा अब ८० लाख मात्र ऋण तिर्न बाकी रहेको र उक्त बाकी ऋण पनि आगामी वर्ष सम्ममा तिरी सकेर उपभोक्तालाई सुलभ मूल्यमा पानी वितरण गर्ने , उपभोक्ताको मागलाई ध्यानमा राखी संस्थालाई आर्थिक रुपमा माथि उठाउन प्रशोधित पानीलाई चिस्यान गरि अब धारा मार्फत मात्र नभएर जार बोतल मार्फत बजारमा उपभोक्ताहरूको हातहातमा पुर्याउने संस्थाको भावी योजना रहेको प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष  शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

संस्थाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअनुसार ७ करोड ६३ लाख ७ हजार २ सय ४१ रुपैयाँ आम्दानी गरेको र कुल आय मध्येबाट ४ करोड ३४ लाख ५९ हजार ४ सय ९९ रुपैयाँ खर्च गरेर  ३ करोड २८ लाख ४७ हजार ७ सय ४२ रुपैयाँ २८ पैसा बचत रहेको छ । त्यस्तै यस आवको शुरुमै बैंक तथा नगद गरी १ करोड ६३ लाख ९८ हजार ७ सय ७२ रुपैयाँ ५३ पैसा मौज्जात रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर निवर्तमान प्रमुख ध्रुुबकुमार शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राख्दै बिर्तामोड खानेपानी उपभोक्ता समितिले गर्दै आएको कामको प्रशंसा गरेका थिए । 

कार्यक्रममा  जेष्ठ उत्कृष्ट उपभोक्ताको रुपमा चन्द्रबहादुर खड्का र कान्तीदेवी शाह, उत्कृष्ट कर्मचारीका रुपमा प्लम्बर प्रकाश शिवा दर्जीलाई सम्मान गरिएको थियो । 

कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेको संस्थाका लेखा प्रमुख तथा कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।