बिर्तामोड । किरात मोर्चाले कोशी नाम खारेजी गरी  अधिकारसम्पन्न किरात राज्य घोषणा गर्न  माग गरेको छ ।

किरात मोर्चाले झापाको बिर्तामोडमा कोणसभा गरी यस्तो माग गरेको हो । कोणसभा अघि किरात मोर्चाका नेता तथा कार्यकर्ताको सहभागितामा आयोजित र्यालीमा कोशी नाम खारेज गर, अधिकार सम्पन्न किरात राज्य घोषणा गर जस्ता नारा लगाउँदै बिर्तामोड नगर परिक्रमा गरेका थिए ।

र्याली पछि मुक्तिचौकमा आयोजित कोणसभामा किरात मोर्चाका नेताले अधिकार सम्पन्न किरात राज्य घोषणा गर्न प्रचारात्मक शान्तिपूर्ण लोकतान्त्रिक दबाबमूलक आन्दोलन शुरु गरिएको बताए ।

कोणसभालाई सम्वोधन गर्दै किरात मोर्चाका केन्द्रीय अध्यक्ष मिसेकहाङ किरातले कोशी नाम खारेजी गरी   अधिकारसम्पन्न किरात राज्य घोषणा गर्नुपर्ने बताए । उनले नेपालका सवै धर्मशास्त्र, इतिहासका दस्तावेजले स्पष्टरुपमा नेपाल किरात मुलुक भनेर लेखेको ,नेपालको सृष्टीकालिन ज्ञान,दर्शन , संस्कृति र मौलिकतानै किरात दर्शन भएकाले नेपालमा किरात युग पुनस्र्थापना गर्न आफूहरु अघि वढीरहेको बताए । 

नेपालमा किरातीजमको नेतृत्वमा हिन्दूजम, बुद्धिजम,लगायत मौलिक दर्शनबाट राष्ट्रियता बन्नुपर्नेमा उनले जोड दिए । उनले किरात सभ्यताको उद्गम थलो प्रदेश नं.१ मै भएको महान किरात सभ्यता, इतिहास, दर्शन, राष्ट्रियतालाई वेवास्ता गरी कोशी प्रदेश घोषणा गरेकाले तत्काल  कोशी नाम खारेजी गरी   अधिकारसम्पन्न किरात राज्य घोषणा गर्न माग गर्दै  शान्तिपूर्ण लोकतान्त्रिक दबाबमूलक आन्दोलन शुरु गरिएको बताए । यो आन्दोलन धर्मको, सभ्यताको आन्दोलन भएकाले आफूहरुको माग सम्वोधन नभएसम्म जारी रहने उनले बताए । 

कार्यक्रममा किरात मोर्चाका केन्द्रीय सदस्य प्रभात मुकारुङले कोशी नाम खारेजी गरी   अधिकारसम्पन्न किरात राज्य घोषणा गर्न आफूहरु आन्दोलनमा होमिएको बताए । कार्यक्रमको सञ्चालन किरात मोर्चाका झापा अध्यक्ष नरेन्द्र शेर्माले गरेका थिए ।