बिर्तामोड। नेवा : पासा मुना पुच: बिर्तामोडको आयोजनामा नवौं नेवा : फुड फेस्टीभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
नेवा : पासा मुना पुच: बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजीव श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमका मूल संयोजक सचिनराज खड्गीले औचित्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले नेवार जातिको मौलिक संस्कार संस्कृति जगेर्ना गर्न भावी पुस्तालाई संस्कार सिकाउन नेवाः पासा मुना पुचः बिर्तामोडले महत्वपूर्ण योगदान गरेको बताउँदै बिर्तामोड नगरपालिका भौतिक र आर्थिक रूपमा नेवाः पासा मुना पुचः बिर्तामोडलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, साहित्यकार लीला अनमोल, संस्थाका पूर्व अध्यक्ष प्रमेश हलवाई, मेची ऑंखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ , झिगु नेवा: पुच : गाईघाट उदयपुरका सचिव गोपाल श्रेष्ठलगायतले नेवाः पासा मुना पुचः बिर्तामोडले नेवा : फुड फेस्टीभल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर नेवार समुदाय तथा गैर नेवार समुदायलाई मौलिक नेवारी परिकार र संस्कार संस्कृतिलाई चिनाएको बताए।
नेवारी भाषा मौलिक संस्कार, खाना, भेषभुषा संरक्षण र सम्बर्द्धन, नेवारी खानाको परिकारको स्वाद सगै साँस्कृतिक कार्यक्रमको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नेवाः पासा मुना पुचः बिर्तामोडले हरेक बर्ष बिर्तामोडमा नेवाः फुड फेस्टिवल आयोजना गर्दै आएको नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
बिर्तामोडस्थित वनस्टप मलमा आयोजित नवौं फुड फेस्टिवलमा नेवाः पासा मुना पुचः ले खुवाको य : मरी, नेवाः मिसा पुचः ले य : मरी खुवा तथा चाकु, सेल रोटी अचार, मयजु पुचःले प्लेन बारा, अण्डा बारा, अतिथि म :म : सेन्टरले छोयला ,कचेला, साफाले, बफ म :म: , झोल म :म: नेवारी खाजा सेट, मोमो, छोयला, चटामरी लगायतका नेवारी मौलिक परिकारको स्टल राखिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए।
कार्यक्रममा सहभागीले नेवारी मौलिक खानाको परिकारको स्वादसंगै सांस्कृतिक कार्यक्रमको आनन्द लिएका थिए।
खासगरी य: मरीमा सहभागीको बिशेष भीड लागेको थियो।
कार्यक्रममा नेवाः समाज कल्याण गुठी भद्रपुर, नेवाः समाज पृथ्वी नगर, नेवाः पासा खल : धरान, नेवाः समाज काँकडभिट्टा, नेवाः समाज इन्द्रपुर, नेवाः पासा मुना पुचः बाहुनडाँगी र आयोजक संस्था नेवाः पासा मुना पुचः बिर्तामोड लगायतले लाखे नाच, नेवारी गीत, नृत्यसहितको सांस्कृतिक प्रस्तुति दिएका थिए।
त्यस्तै गायिका ज्योती खाती, समिक्षा बराल, बिनोद कालिकोटे , राजकुमार गुरुङ , दिपेन भेटवाललगायतले समेत गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा बिभिन्न प्रस्तुती दिने नेवा : खल संस्थाहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन नेवाः मिसा पुचः की अध्यक्ष निलम प्रधानले र सांस्कृतिक कार्यक्रमको सञ्चालन जतिन श्रेष्ठ र मिलन श्रेष्ठले गरेका थिए।




















