बिर्तामोड । झापाको अर्जुनधारा–१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा तीन दिवसिय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव गरिने भएको छ ।
झापा जिल्लामा हुने साहित्यिक गतिविधि तथा धार्मिक तथा पर्यटकीय स्थल साधुटारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले तीन दिवसिय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवको आयोजना गरिएको श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालाका आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
आगामी फागुन २८, २९ र ३० गते आयोजना हुने तीन दिवसिय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवमा भारतका आसाम, दार्जिलिङ, सिक्किमसहित नेपालका विभिन्न स्थानमा साहित्यकार तथा धार्मिक व्यक्तिहरुको आवासिय रुपमा सहभागीता रहने उनले बताए ।
फागुन २८ गते भारतका आसाम, दार्जिलिङ, सिक्किमबाट आउने अतिथिहरुलाई मेची पुल काँकडभिट्टामा भव्य स्वागत गर्दै महोत्सव स्थल श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा ल्याइने र नेपालका विभिन्न स्थानबाट आउने अतिथिहरुलाई पनि स्वागत सत्कार गरिने संस्थाका सल्लाहकार संयोजक तथा कार्यक्रम संयोजक गोपिकृष्ण खतिवडाले जानकारी दिए ।
ती अतिथिहरुलाई फागुन २९ गते विहान योग शिविर तथा श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालाको धार्मिक गतिविधिमा सहभागीता गराइने र विहान ९ वजेदेखि ३ बजेसम्म झापाका विभिन्न २० वटा गुरुकुलका विद्यार्थीहरुलाई प्रा डा. देवी नेपालले छन्द कविता लेखन सम्वन्धि प्रशिक्षण प्रदान गर्ने , दिउसो ३ वजेदेखि ५ वजेसम्म अतिथि पाहुनाहरुलाई चुरे क्षेत्र तथा मदन भण्डारी लोकमार्गको अवलोकन गराइने तथा गुरुकुलका प्रशिक्षित विद्यार्थीहरुलाई स्थलगत छन्द कविता लेख्न लगाइने र उनीहरुले लेखेको कविता वेलुका ५ देखि ६ वजेसम्म वाचन गर्न लगाई पुरस्कृत गरिने, बेलुका ६ वजेदेखि ७ वजेसम्म गुरुकुलीय गतिविधिबारे अतिथिहरुलाई अवलोकन सहितको जानकारी गराइने र ७ वजेदेखि भजन तथा गजल सहितको काव्यसभा आयोजना गरिने र त्यहाँ जुनियर अनुप जलौटा नामले परिचित रमेश प्रजापतिले भजन र नारी छन्दकविहरुद्वारा कविता तथा गजल बाचन गरिने कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन फागुन ३० गते विहान गुरुकुलीय गतिविधि सहित ९ वजे समापन समारोह आयोजना गरिने र समापन कार्यक्रममा डा. दिपक न्यौपानेले समसामयिक नेपाली कविताका प्रवृत्ति विषयक कार्यपत्र प्रस्तुत गर्ने र त्यसको टिप्पणी साहित्यकार शिव प्रणत रेग्मीले गर्ने , डा महेश पौडेलले पर्यटन र साहित्यको सम्वन्ध विषयक कार्यपत्र प्रस्तुत गर्ने र त्यसको टिप्पणी साहित्यकार प्रतिक ढकालले गर्ने , डा कर्णाखर खतिवडाले आरोग्य पर्यटन विषयक कार्यपत्र र आयोजक संस्थाले शंकराचार्य परम्परा र पूर्वीय दर्शन विषयक कार्यपत्र प्रस्तुत गर्ने र अन्य साहित्यिक कार्यक्रम समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए । फागुन ३० गते हुने समापन समारोहको प्रमुख अतिथिको रुपमा कोशी प्रदेश सरकारका वन तथा पर्यटन मन्त्री भीम पराजुलीलाई आग्रह गरिएको उनले बताए ।
श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशाला साधुटारको स्वर्णमहोत्सवको अवसरमा तीन दिवसिय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना गरिएको श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशाला साधुटारका वरिष्ठ उपाध्यक्ष पण्डित शान्तिराम नेपालले जानकारी दिए ।
कोशी पर्यटन वर्ष समेतको अवसरमा तीन दिवसिय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना गरिएको बताउँदै उनले यसलाई सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।
यसैबीच झापाको अर्जुनधारा–१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा हुन गइरहेको तीन दिवसिय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव सफल बनाउन बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, साहित्यकार केशव आचार्य, गणेश निरौला, लीला अनमोल , पठन संस्कृति वर्ष २०२६ अभियानका सहसंयोजक केशव मैनालीलगायतले महोत्सव सफल बनाउन विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार संयोजक तथा कार्यक्रम संयोजक गोपिकृष्ण खतिवडाले गरेका थिए ।




















