बिर्तामोड। साहित्य चौतारी विर्तामोड झापा नेपालको आयोजनामा नियात्राकार गणेश निरौलाको दोस्रो कृति कनाटा कैरनको बिर्तामोडमा चर्चा परिचर्चा गरिएको छ।
साहित्य चौतारी विर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नियात्राकार गणेश निरौलाले स्वागतसहित आफ्नो दोस्रो कृति कनाटा कैरनको रचना गर्भबारे जानकारी गराएका थिए।
उनले आफूले ‘कोठेबारी, ढुङ्गा र माटो’ कविता सङ्ग्रहपछि दोस्रो कृतिको रूपमा ‘कनाटा कैरन’ नामक नियात्रा कृति बजारमा ल्याएको बताए।
क्यानडाको करिब ६ महिनाको बसाइपछि आफूले क्यानडामा देखेको र भोगेको विषयवस्तुलाई जस्ताको त्यस्तै ‘कनाटा कैरन’ नामक नियात्रामा उतारेको उनको भनाई छ।
कार्यक्रममा अग्रज साहित्यकार कृष्ण धरावासी , आख्यानकार पुण्यप्रसाद खरेल, साहित्यकार नमूना निरौला दाहालले नियात्राकार गणेश निरौलाको कृति कनाटा कैरनको समिक्षात्मक टिप्पणी गरेका थिए।
उनीहरूले ‘कनाटा कैरन’ नामक नियात्रा एउटा पाठकरूपि यात्रीका लागी विश्वविद्यालय भएको बताए।
पश्चिमी देशहरूमा हुने लाइब्रेरी कस्ता होलान्, कत्रा होलान्, व्यवस्थापन कस्तो होला , त्यहाँका लेखक कलाकारका सृजनामाथि उनीहरूको सार्वभौमिकता कसरी सुरक्षित हुन्छ भन्ने पनि यो कृतिमा पढ्न पाइने भएकाले यो कृति ऐतिहासिक र भौगोलिक विविधताले भरिपूर्ण कृति भएको बताए।
अरू नियात्रा पढ्न पाठकलाई अल्छी लागेपनि नियात्राकार गणेश निरौलाको ‘कनाटा कैरन’ नामक नियात्रा कृति पाठकप्रिय, पाठकमैत्री भएको बताउँदै उनीहरूले नियात्राकार निरौलाले पाठकलाई, स्रोतालाई आफ्ना कुरामा लठ्याएर पढौं पढौं लाग्ने बनाएको जनाए।
‘कनाटा कैरन’का १९ वटै लेखहरू (प्राक्कथनसमेत) सबै सर्वसाधारण साक्षर नेपालीले बुझ्ने भाषामा रहेको उनीहरूको भनाइ छ।
कार्यक्रममा साहित्य चौतारी विर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य चौतारीले विभिन्न स्रष्टाहरूको कृति लोकार्पण गरिदिँदै आएको बताउँदै नियात्राकार गणेश निरौलाको ‘कनाटा कैरन’ नामक नियात्रा कृति चर्चा परिचर्चा कार्यक्रममा सहभागी समीक्षकहरु, अतिथिहरू , कृतिका लेखक र कार्यक्रम सम्पन्न गर्न सघाउ पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्य चौतारी विर्तामोड झापा नेपालका सम्मानित तथा अभिनन्दित स्रष्टाहरू लीला उदासी, मोहनप्रसाद ओली, मुनाराज शेर्मा, लीला अनमोल, केशव आचार्य, शिरो सान्दाइ, पुण्य बराल, श्रीमती दिव्या निरौला, भक्त खपाङ्गी, देशु वनेम, विवश बलिभद्र कोइराला, विरही अधिकारी, गोपीकृष्ण खतिवडा, दिलबहादुर थापा, गीता सुवेदी नेपाल, मोक्ष खतिवडा, रश्मि असफल, मायामितु नेउपाने, चित्रा पौड्याल, मीना अधिकारी, योगेन्द्र अधिकारी, ज्ञानु बुढाथोकी, जय भण्डारी, तीर्थ सिग्देल, शिवकुमार पौडेल, अनिरुद्र ओली, विष्णुकुमार भट्टराई, नेत्रप्रसाद घिमिरे, किरण खनाल, नदी भट्टराई नुरज, देवीप्रसाद गौतम, मिरा काफ्ले पोखरेल, युवराज अधिकारी, मञ्जु विमली, उमानाथ दाहाल, भीमप्रसाद निरौला, लक्ष्मीप्रसाद रिजाल, दुर्गाप्रसाद भट्टराई, हरिप्रसाद सापकोटा, पुष्पा नेपाल सुवेदी, खेमराज निरौला, डिल्लीप्रसाद सुवेदी, तेजकुमारी सुवेदी, टेकप्रसाद नेपाल, कृष्णप्रसाद रिजाल, अर्जुन निरौला, सरू निरौला, सीता निरौला , लता खरेल, माधव पौडेल, केशव भण्डारी , नविन दाहाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारी विर्तामोड झापा नेपालका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।




















