बिर्तामोड। नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेड बिर्तामोड ४ ले नागरिक सहकारी अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।
झापाको बिर्तामोड–४ हर्कलाल रोडमा आगामी बैशाखदेखि नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले नागरिक सहकारी अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने भएको हो ।
नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेड बिर्तामोड ४ को बिर्तामोडमा सम्पन्न पाँचौं बार्षिक साधारणसभामा यस्तो जानकारी दिइएको हो ।
आम सर्वसाधारण नागरिकलाई लक्षित गरी सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा दिने उद्देश्यले नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको मातहतमा नागरिक सहकारी अस्पताल सञ्चालन गरी सर्वसुलभ दरमा स्वास्थ्य उपचार प्रदान गर्ने तयारी गरेको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले बताए ।
उनले नागरिक सहकारी अस्पताल सञ्चालनको तयारी तिब्र बनाइएको बताउँदै झापाको बिर्तामोड–४ हर्कलाल
रोडमा नागरिक सहकारी अस्पताल सञ्चालनको लागि ११ कठ्ठा जमिन २५ बर्षको लागि भाडामा लिएर अस्पताल भवनको निर्माण कार्य धमाधम भइरहेको जनाए । नागरिक अस्पताल भवनको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको उनले बताए।
नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको तीन सयभन्दा बढी शेयर सदस्य बनिसकेको बताउँदै उनले
बिरामीको आर्थिक अवस्थालाई ध्यान दिएर नागरिक सहकारी अस्पतालले सुलभ दरमा उपचार सेवा दिने जानकारी दिए ।
नागरिक सहकारी अस्पतालमा बिषेशज्ञ डाक्टरको सुविधा तथा नेपाल सरकारबाट सञ्चालित बीमा सेवासमेत सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षता तथा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष जीवन खड्काले स्वागत गरेका थिए।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राजकुमार पोखरेल, संस्थापक अध्यक्ष बलराम कार्की, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. टंक बाह्रकोटी, स्वास्थ्य मन्त्रालयका पूर्व सह–सचिव डा. मुक्ति खनाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रबिन्द्र भट्टराईले गरेको सदस्य कृष्णप्रसाद बजगाईंले जानकारी दिए ।




















