बिर्तामोड । राधिका फाउण्डेशनको आयोजनामा आगामी मंसिर १२ गतेदेखि श्रीमद् भागवत नवाह धनधाञ्याचल ज्ञान महायज्ञ हुने भएको छ।
झापाको कनकाई -६ मन्सापूरस्थित राधिका फाउण्डेशनको निर्माणाधिन भवनमा आगामी मंसिर १२ गतेदेखि मंसीर २१ गतेसम्म श्रीमद् भागवत नवाह धनधाञ्याचल ज्ञान महायज्ञ हुने भएको राधिका फाउण्डेशनकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासीले बताइन् । मानवीय तथा सामाजिक सेवा अभियानलाई थप सुदृढ बनाउँदै राधिका फाउण्डेशनमा आश्रित अनाथ असहाय बालबालिकाको शिक्षादीक्षा, संरक्षण तथा संस्थाको निर्माणाधीन भवन निर्माण कार्यलाई पूर्णता दिने उद्देश्यले राधिका फाउन्डेसनको आयोजना तथा कनकाई–६ वडा कार्यालयको संयोजनमा महायज्ञ हुने उनले बताइन् ।
राधिका फाउन्डेसनले सञ्चालन गर्दै आएको अनाथ असहाय बालबालिकाको संरक्षण तथा शैक्षिक अभियानलाई दीर्घकालीन र व्यवस्थित बनाउनु आजको आवश्यकता भएको भन्दै आर्थिक अभाव, पारिवारिक असहजता, बालहिंसा तथा भौगोलिक विकटताका कारण शिक्षाको अवसरबाट वञ्चित बालबालिकालाई उचित संरक्षण र गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको प्रमुख लक्ष्यलाई मूर्तरूप दिन संस्थाको निर्माणाधीन भवनलाई पूर्णता दिई बालबालिकाका लागि सुरक्षित, व्यवस्थित र उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न महायज्ञ आयोजना गरिएको उनको भनाई छ ।
महायज्ञबाट संकलित सहयोगलाई सामाजिक सेवासँग जोड्दै बालबालिकाको भविष्य निर्माणमा योगदान बताउँदै भागवत मञ्जरी दासीले अनाथ असहाय बालबालिकाको संरक्षण र शिक्षासँगै सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासलाई समेत आफ्नो अभियानसँग जोड्दै राधिका फाउन्डेसनले झापाको बाह्रदशी गाउँपालिका–७ मा तिम्सिना परीवारले नि:शुल्क प्रदान गरेको दुई विगाह जग्गामा बृहत् परियोजनाको निर्माण कार्य प्रारम्भ गरेको बताइन् ।
पाठशाला (गुरुकुलीय परम्परामा आधारित शिक्षालय) गौशाला, यज्ञशाला, धर्मशाला तथा औषधालयसमेत रहने गरी परिकल्पना गरिएको परियोजनाको विस्तृत गुरुयोजना फाउन्डेसनले तयार गरिसकेको बताउँदै उनले आधुनिक शिक्षासँगै नैतिक मूल्य, जीवनोपयोगी ज्ञान, पूर्वीय दर्शन, आध्यात्मिक चेतना र असल संस्कारलाई प्राथमिकता दिँदै संस्कारसहितको शिक्षा प्रदान गर्नु परियोजनाको प्रमुख अवधारणा रहेको जानकारी दिइन्।
गुरुकुलीय शिक्षा परम्पराको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई ज्ञान, संस्कार, अनुशासन र मानवीय सेवाभावसँग जोड्ने उद्देश्यले शिक्षा, स्वास्थ्य सेवा, धार्मिक अनुष्ठान, आध्यात्मिक साधना, गौसंरक्षण तथा सामाजिक सेवालाई एउटै परिसरमा समेट्ने लक्ष्यसहित अघि बढाइएको परियोजना भविष्यमा शैक्षिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिको एकीकृत केन्द्रका रूपमा विकास गर्ने फाउन्डेसनको दीर्घकालीन सोच रहेको उनको भनाई छ ।
आगामी मंसिर १२ गते कलश यात्रा गरी मंसिर १३ देखि २१ गतेसम्म हुने श्रीमद् भागवत नवाह धनधाञ्याचल ज्ञान महायज्ञको प्रमुख कथावाचक भागवत मञ्जरी राधिका दासी रहने र प्रत्येक साँझ गंगा आरती हुने कार्यक्रम संयोजक कनकाई-६ का वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले बताए।
स्थानीय शान्तीराज प्रसाईंले प्रदान गरेको अढाई कठ्ठा जग्गामा निर्माणाधिन राधिका फाउण्डेशनको भवन निर्माण पूरा गरी त्यहाँ रहेका अनाथ असहाय वालवालिकाहरूलाई उचित शिक्षा प्रदान गर्न महायज्ञ लगाउनु परेको उनले बताए।
राधिका फाउण्डेशनमा हाल १७ जना अनाथ असहाय वालवालिकाहरू रहेको र उनीहरू भाँडाको घरमा बसेर झापाको सुरूङ्गास्थित पशुपति अंग्रेजी वोर्डिङ स्कूलमा अध्ययनरत् रहेकाले उनीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्न महायज्ञ आयोजना गरिएको उनले बताए।
श्रीमद् भागवत नवाह धनधाञ्याचल ज्ञान महायज्ञ नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त धार्मिक गुरूहरू, सन्तमहन्त, गायक गायिका, कलाकार लगायतको सहभागिता रहने कार्यक्रम संयोजक ओलीले बताए।
बालबालिकाको शिक्षा, संरक्षण र उज्ज्वल भविष्य निर्माण कने एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई समग्र समाजको साझा जिम्मेवारी भएको र एउटा बालबालिकाले उचित शिक्षा र संरक्षण प्राप्त गर्न भनेको एउटा परिवार मात्र नभएर समग्र समाज र राष्ट्रको भविष्य उज्ज्वल हुनु रहेकाले राधिका फाउन्डेसनले सञ्चालन गर्दै आएका मानवीय सेवा, बालबालिका संरक्षण तथा शिक्षाका अभियान र निर्माणाधीन बृहत परियोजनाबारे आम नागरिकलाई सुसूचित गराउँदै श्रीमद् भागवत नवाह ज्ञान महायज्ञको आयोजना गरिएको भागवत मञ्जरी राधिका दासीले बताइन्।
महायज्ञमा सहभागी भएर धार्मिक पुण्य लाभ लिनुका साथै अनाथ असहाय बालबालिकाको जीवनमा आशा, अवसर र उज्यालो थप्न श्रद्धालु भक्तजन, समाजसेवी, उद्योगी, व्यवसायी, शिक्षाप्रेमी, विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय र सम्पूर्ण महानुभावहरुमा उनले आग्रह समेत गरेकी छिन्।
कार्यक्रममा सहभागी बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईं, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, समाजसेवी शान्तिराज प्रसाईंलगायतले महायज्ञ सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए।

















