बिर्तामोड। मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा केबलकार निर्माण प्रक्रिया अघि बढाए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा केबलकार आयोजना खारेज गर्न र मुक्कुमलुङको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक स्वरूप जोगाउन सरकारसँग माग गरेको हो।
मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समिति झापाका संयोजक हिमालयप्रकाश कन्दङ्वाले मुक्कुमलुङमा पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना तुरुन्त रद्व/खारेज गर्नुपर्ने,ऐन, कानुन मिच्ने, फर्जी कागजात बनाउने उपर छानबिन गरी कारबाही गर्नुपर्ने , गोली चलाउन र बर्बर दमन गर्न आदेश दिने उपर कारबाही गर्नुपर्ने,झुठा मुद्राहरू खारेज गर्नुपर्ने, घाइतेको उपचार खर्च र जिविकोपार्जनको ग्यारेन्टी गर्नुपर्ने,पाथिभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ खारेज गर्नुपर्ने,
नेपाल सरकारद्वारा प्रकाशित राजपत्र २०७५/१२/१८ को सीमा विस्तारको सम्बन्धमा भएको क्षेत्र विकास समितिको संशोधित गठन आदेश खारेज गर्नुपर्ने,
पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति बनाइयोस् र रैथाने आदीवासीहरुको सहमति र नेतृत्वमा समिति गठन गर्नुपर्ने ,मुक्कुमलुङ क्षेत्रलाई सास्कृक्तिक र मुन्धुमी मूल्य मान्यता अनुरूप संरक्षण गर्दै त्यस मोडलमा मुक्कुमलुङको विकास, संरक्षण र संवर्धन गर्नुपर्ने माग सरकार समक्ष राखेको बताए।
उनले आफूहरूको माग सम्बोधन नभए संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिए ।
मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समिति झापाका संयोजक हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिम्बुवानका वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक, आदिवासी जनजाति नेता देशु वनेम,संघीय लिम्बुवान प्रान्तीय मञ्च झापा जिल्ला अध्यक्ष राजा आङ्थुपो,लिम्बुवान मुक्ती मोर्चा झापा अध्यक्ष जेबि जबेगु,किरात राई यायोख्या झापा जिल्ला अध्यक्ष गणेश राई,किरात याक्थुङ चुम्लुङ झापा जिल्ला सचिब भिममाया नेम्वाङ कन्दङ्वा लगायतले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा केबलकार निर्माणले त्यस क्षेत्रको मौलिक धार्मिक तथा सांस्कृतिक महत्त्वमा असर पार्ने भएकाले केबलकार निर्माण आयोजना नै खारेज गर्नुपर्ने अडान राखेका थिए।
उनीहरूले मुक्कुमलुङलाई मुन्धुमी मूल्य र मान्यताअनुसार संरक्षण गर्नुपर्ने माग गरेका छन्।
केबलकार निर्माणको विषयमा भएको विवाद समाधान गर्न सरकारले गठन गरेको सात सदस्यीय कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै उनीहरूले उक्त प्रतिवेदनमा कानुन उल्लङ्घन, भ्रष्टाचार र अधिकार दुरूपयोगका विषय समेटिएकाले प्रतिवेदनका निष्कर्ष र सिफारिस सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने माग गरे।
केबलकार निर्माण आयोजना खारेजीसँगै निर्माण प्रक्रियामा कानुन उल्लंघन र फर्जी कागजात तयार पारिएको विषयमा छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
नमुक्कुमलुङ याक्थुङ समुदायको मुन्धुमी आस्था, पुर्खाको विरासत र ऐतिहासिक स्मृतिसँग जोडिएको पवित्र स्थल भएकाले यस्तो पवित्र स्थललाई व्यावसायिक नाफाको माध्यम बनाउन नहुने उनीहरूको भनाइ छ।
मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समिति झापाका संयोजक हिमालयप्रकाश कन्दङ्वाले जिल्ला प्रशासन कार्यलय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको बताए।
पत्रकार सम्मेलनको सहजीकरण पूर्ण सुहाङले गरेका थिए।




















