बिर्तामोड । देशकै सबैभन्दा ठूलो सौर्य परियोजनाको रुपमा रहेको ‘झापा इनर्जी’  लिमिटेडले १० मेगावाट सौर्य ऊर्जा उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । 

 झापाको पहिलो विद्युत् उत्पादन गृह तथा निजी क्षेत्रको सवै भन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’  लिमिटेडले सोलार प्यानलमार्फत उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको शिवसताक्षी–४मा रहेको बोलोचोक सबस्टेसनबाट नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको ‘झापा इनर्जी’  लिमिटेडका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । 

उनले सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित विद्युत्को नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको बताउँदै आगामी माघ २३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकै सबैभन्दा ठूलो सौर्य परियोजनाको रुपमा रहेको ‘झापा इनर्जी’  लिमिटेडको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए ।

झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवासहितको सक्रियतामा झापाको शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित देशकै ठूलो सौर्य परियोजना ‘झापा इनर्जी’को चार वर्षअघि २०७८ साल मंसीर २७ गते संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले शिलान्यास गरेका थिए ।

‘झापा इनर्जी’  लिमिटेडका अध्यक्ष लालप्रसाद साँवाले सौर्य ऊर्जा परियोजनाका लागी ‘झापा इनर्जी’  लिमिटेडले २१ विगाह १३ कठ्ठा जमिन खरिद र करिब ६ विगाह लिजमा लिएर २७ विगाह जमिनमा ८३ करोडको लगानीमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको जानकारी दिए । 

 माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीयको सेयर रहेको ‘झापा इनर्जी’  लिमिटेडले सोलार प्यानलमार्फत उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको बताउँदै नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिने जानकारी दिए ।

आगामी १५ दिनसम्म सोलार प्यानलमार्फत विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिरहने र परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युत्को कुनै शुल्क प्राधिकरणले तिर्नुनपर्ने जनाए । 

 झापा इनर्जी  लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको र सम्झौता अनुसार झापा इनर्जी  लिमिटेड परियोजनाबाट उत्पादित विद्युत्  नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने उनको भनाइ छ । 

नेपालमा सौर्य उर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेगावाट मात्र बिद्युत् उत्पादन भइरहेको बताउँदै उनले झापाको पहिलो विद्युत् उत्पादन गृह तथा निजी क्षेत्रको सवै भन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’  लिमिटेडले नेपालको उर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गरे । 

नागरिकलाई उत्पादनसँग जोड्ने उद्देश्यले झापामा सौर्य ऊर्जा परियोजना सञ्चालन गरिएको र ऊर्जालाई पर्यटनसँग जोड्नका लागि सौन्र्दयकरणका काम सुरु गरिएको उनले बताए ।

 उनले ‘झापा इनर्जी’  लिमिटेडले स्थापना गरेको सोलार प्यानलको १२ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको र हाल १० मेगावट विद्युत् प्राधिकरणमा जोडिएको जानकारी दिए । ‘झापा इनर्जी’ कम्पनि लिमिटेडले स्थापना गरेको सोलार प्यानलबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने उनले दाबी गरे ।

नेपाल बिद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले ‘झापा इनर्जी’  लिमिटेडले १० मेगावाट सौर्य ऊर्जा उत्पादन परीक्षण प्रसारणको ३५ दिनमा ८ लाखवाट बिद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेगावाट बिद्युत् राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौषम सफा भएको समयमा १० मेगावाट उत्पादन हुने बताए । 

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी लिमिटेड स्थापना गरि १० मेगावाट सौर्य ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको सञ्चालक रामचन्द्र उप्रेतीले बताए । 

 सौर्य परियोजना रहेको ‘झापा इनर्जी’ लिमिटेडको परियोजनास्थलबाट नेपाल विधुत् प्राधिकरणको बोलोचोक सबस्टेशन एक किलोमिटरको दूरीमा र उक्त सबस्टेसनसम्म विद्युत पुर्याउन ‘झापा इनर्जी’  लिमिटेडले  नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको ‘झापा इनर्जी’  लिमिटेडका सञ्चालक नारायणप्रसाद पोखरेलले जानकारी दिए । 

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) लगायतले देशकै सबैभन्दा ठूलो सौर्य परियोजनाको रुपमा रहेको ‘झापा इनर्जी’  लिमिटेडले १० मेगावाट सौर्य ऊर्जा उत्पादन गरेकोमा खुशी व्यक्त गर्दै यसले झापाको गौरव बढाएको बताए ।   

पूर्व पश्चिम राजमार्गको शिवसताक्षी नगरपालिकास्थित दूधे बजारबाट करीव १० किलोमिटर दक्षिण शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा ‘झापा इनर्जी’  लिमिटेडको सौर्य ऊर्जा परियोजना स्थल रहेको छ ।