बिर्तामोड। ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा-८ झापाको आयोजनामा ११८ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख वलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नरेन्द्र तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यतर्फ भक्त खपाङ्गी, पत्रकारितातर्फ एपीवान टेलिभिजनका झापा संवाददाता विष्णुकुल श्रेष्ठ, अभिनयकलातर्फ सृष्टी आचार्य, खेलकुद तर्फ फुटबल खेलाडी कमल प्रधानलाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा साहित्यकार लोकनाथ पौड्याल, चित्रा पौड्यालले लक्ष्मीप्रसाद देवकोटा सम्बन्धी कविता, साहित्यकार टंक काफ्ले बिकल्पले कविता, सिन्धु निरौलाले गजल, हस्त परियार , हरिप्रसाद काफ्ले, आकृति बिष्ट, प्रसुन गुरागाँईले गीत प्रस्तुत गरेका थिए।
साहित्यकार भक्त खपाङ्गीले महाकवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी प्रस्तुत गरेको कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको नेतृत्वमा सामूहिक देउसी भैलो खेलिएको थियो।
देउसीमा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख वलदेवसिंह गोम्देन, साहित्य चौतारी बिर्तामोड झापा नेपालका पूर्व अध्यक्ष टंक बिकल्प, हस्त परियार, पूर्व सदस्य भक्त खपाङ्गी, मानार्थ सल्लाहकार लोकनाथ पौड्याल, उपाध्यक्ष हिम्मत नेम्बाङ, सचिव तुलसीप्रसाद निरौला, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सदस्य चित्रा पौड्याल, कानूनी सल्लाहकार कृष्णप्रसाद पौडेलसहित सृष्टी आचार्य, पत्रकार दिपिन राई, विष्णुकुल श्रेष्ठ,गजेन्द्र खनाल, ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजका पदाधिकारी र अन्य महानुभावले सहभागिता जनाएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।




















