बिर्तामोड। झापाली समाज युएईले असहाय तथा गरीब विद्यार्थी वालवालिकाहरूलाई छात्रवृत्ति बितरण गरेको छ।
झापाली समाज युएई नेपाल सम्पर्क समितिको समन्वयमा झापाका १५ वटै पालिकाबाट एक-एक जना विधार्थी छनौट गरी १५ जना विधार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले बताए।
  झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंको अध्यक्षता तथा झापाली समाज युएई नेपाल सम्पर्क समितिका  प्रमुख सल्लाहकार राजेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरस्वति बांस्तोलाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
  झापाली समाज युएई नेपाल सम्पर्क समिति हल्दीबारी संयोजक बासुदेव चापागाईंले औचित्यमाथी प्रकाश पार्दै वैदेशिक रोजगारीको सिलसिलामा युएईमा श्रमरत झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले झापाका सबै पालिकाबाट १/१ जना विद्यार्थीलाई जनही ५ हजार ५ सय नेपाली रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गर्दै आएको बताए।
  कार्यक्रममा झापाली समाज युएई नेपाल सम्पर्क समिति कमल  गाउँपालिकाका संयोजक मित्रलाल पोखरेलले शुभकामना मन्तव्य राख्दै झापाली समाज युएईले अक्षयकोष स्थापना गरी अक्षयकोषको व्याजबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेको बताए।
    झापाली समाज युएईले विभिन्न समयमा गरेका साँस्कृतिक तथा पिकनिक कार्यक्रमबाट प्राप्त मुनाफाबाट संकलन गरिएको रकममा स्वेच्छिक रूपमा शुभेच्छुकहरुबाट प्राप्त रकमलाई एकमुष्ट रूपमा जम्मा गरी स्थापना गरेको अक्षयकोषमा १३ लाख नेपाली रुपैयाँ राखिएको र अक्षयकोषको ब्याजबाट प्राप्त रकम स्थानीय पालिका र सम्बन्धित विद्यालयको सिफारिसमा कक्षा १० सम्म छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइएको र उक्त छात्रवृत्ति कार्यक्रमले निरन्तरता पाइरहेको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले बताएका छन् ।
   छात्रवृत्ति पाउनेहरूमा श्रीकृष्ण मावि दमककी अनिसा सिंह, बालज्योति प्रावि शिवसताक्षीकी रेस्मा महरा, दुर्गा मावि गरामनीकी रिया थापा, भानु मावि मेचीनगरकी ईस्मा खत्री, शहीद धर्मभक्त मावि कमलका सविन खड्का, नवसृजना प्रावि हल्दिबारीकी जेनिसा परियार, जनकल्याण आवि गौरीगञ्जका विकास हेमरम,घोडामारा आबि बाह्दशीकी पुनम विक, शिव मावि कचनकवलका पुस्कर कार्की, डोरामारी मावि गौरादहकी अनु मुर्मू, कल्वलगुडी आवि भद्रपुरकी समृद्धी गौतम, पुहांतु जनज्योति मावि भद्रपुरका पुस्पल खवास, सरस्वति आबि बुद्धशान्तीकी ईशानी लिम्बू, कुवाडीदेवी मावि झापा गाउँपालिकाकी निरूता टुडु रहेका छन्।
झापाली समाज युएई नेपाल सम्पर्क समितिका बिभिन्न पालिकाका संयोजकहरू दमककी सरस्वति बाँस्तोला, शिवशताक्षीकी संगीता डाँगी, बिर्तामोडका खेमराज भट्टराई, मेचीनगरका विकास उप्रेती, कमलका मित्रलाल पोखरेल, हल्दीबारीका बासुदेव चापागाईं , बाहदशीका दुर्गेश सापकोटा , कचनकवलका बलराम अर्याल, गौरादहकी विनिता सापकोटा, भद्रपुरका हेमसागर भट्टराई, झापा गाउँपालिकाका संयोजक प्रदिपकुमार संग्रौलामार्फत छात्रवृत्ति बितरण गरिएको थियो।
   जिल्ला प्रशासन कार्यालय झापामा आधिकारिक दर्ता भएको,कनकाई  सुरुङ्गामा कार्यालय रहेको झापाली समाज युएईले आफना आजीवन सदस्यहरुबाट संकलन गरेको रकमबाट पनि करिब १० लाख रुपैयाँलाई पनि अक्षयकोष बनाई उक्त कोशबाट पनि समाजले आफना सदस्यका साथै अन्य विपत्तिहरुमा पनि सहयोग गर्दै आएको उनले जानकारी दिएका छन् ।
   झापाली समाज युएईले  हरेक जाडाे मौसममा न्यानो लुगा पनि वितरण गर्ने गरेको उनको भनाई छ।
   यसैगरी झापाली समाज युएईले बिर्तामोडमा रहेको अपाङ्ग वालशिक्षा सरोकार केन्द्रलाई पनि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी बर्सेनि छात्रवृत्ति प्रदान गरिरहेको  उनले जानकारी दिएका छन् ।
  अन्य संस्थाभन्दा झापाली समाज युएईले फरक खालको कार्यक्रम छात्रवृत्ति बितरण कार्यक्रम ल्याएर गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई सहयोग गरेकोमा सम्बन्धित बिद्यार्थी र शिक्षकले खुसी व्यक्त गरेका छन् ।
  कार्यक्रमको सञ्चालन झापाली समाज युएई नेपाल सम्पर्क समितिका सचिव राजु उप्रेतीले गरेका थिए।