बिर्तामोड। मेची उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यकारिणी सदस्य सचिन निरौलाले आफू उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागी मेची उद्योग वाणिज्य संघको नेतृत्वमा आएको बताएका छन्।
मेची उद्योग वाणिज्य संघको निर्वाचनबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता निरौलाले आफूलाई मेचीनगरका उद्योगी व्यवसायीले अमूल्य मत दिएर बिजयी बनाएकाले आफूले उद्योगी –व्यवसायीहरूको समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने र उद्योगी –व्यवसायीहरूको मत खेर जान नदिने बताए।
धुलाबारी बजारको सडक समस्या , ग्रामिण वाटाे , चिया निर्यातमा देखिएका समस्या समाधानका लागि नेपाल उद्याेग बाणिज्य महासंघ मार्फत सरकारलाई ध्यानाकर्षण गराउने, मेचीनगरमा उत्पादन हुने निर्यातजन्य भेनियर, प्लाईको समस्या समेत दिर्घकालिन समाधानको लागि पहल गर्ने, कृषिजन्य उद्याेगलाई बढावा दिन निती निर्माण लगायतका आवश्यक काम गर्ने उनले प्रतिबद्धता जनाए।
यस क्षेत्रमा रहेका उद्योगी–व्यवसायीहरूले भोगिरहेका विभिन्न जटिलता तथा बजार व्यवस्थापनका विषयमा आफूले पहल गर्ने उनको भनाई छ।
निर्वाचनपछि अवीर जात्रा नगर्ने बताउँदै
उनले भने “मलाई प्राप्त भएको यो जिम्मेवारीलाई केवल पद वा सम्मानको रूपमा होइन, उद्योगी–व्यवसायीहरूको समस्या समाधान गर्ने अवसरका रूपमा लिएको छु। उद्योगी व्यवसायीको हितमा काम गरेर उनीहरुसंगै बसेर खादा र अबिर लगाउने छु । ”
निरौलाले धुलाबारी बजारको बाटो लगायत व्यवसायीहरूले लामो समयदेखि भोगिरहेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग समन्वय, पहल र निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत दुई दशकदेखि व्यवसाय, शिक्षा, उद्योग तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका निरौलाले विभिन्न संस्थामार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १०० भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको बताउँदै यस क्षेत्रका उद्योगी व्यवसायीको सुख दुःखमा सधैं साथ सहयोग दिने प्रतिबद्धता जनाए।
निर्वाचनमा आफूलाई विजयी गराउने सम्पूर्ण उद्योगी–व्यवसायी तथा शुभेच्छुकहरुलाई धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा संस्थालाई अझ प्रभावकारी, जिम्मेवार र व्यवसायमैत्री बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताए।




















