बिर्तामोडचलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको संयोजननमा बिर्तामोडमा ‘चलचित्र, पर्यटन र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
   चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका उपाध्यक्ष रमेश तिवारीको अध्यक्षता तथा पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल झापा शाखा अध्यक्ष एकराज प्रधानले स्वागत गरेका थिए।
   कार्यक्रममा प्रमुख अतिथी खतिवडाले  पर्यटन प्रबर्द्धन गर्न  चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताए।
   उनले  नेपाली चलचित्रहरुलाई विदेशी भाषामा अनुवाद गर्ने अथवा सबटाइटल राखेर अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान सके यसले पर्यटन प्रबर्द्धन गर्न मद्दत पुग्ने बताए। 
   कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले चलचित्रलाई सरकारले प्राथमिकतामा राखेर चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
   नेपाल चलचित्रकर्मी संघका केन्द्रीय सदस्य मिजास पोखरेलले नेपालमा भारतीय पर्यटक सबैभन्दा बढी आउने गरेकाले   भारतको सिक्किम, बंगाल, आसाम, मेघालय, भुटान जस्ता स्थानमा नेपाली चलचित्रको  बजारीकरण गर्नसके यसले पर्यटन प्रबर्द्धनमा मद्दत पुग्ने बताए।
    नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सदस्य युवराज गिरीले चलचित्र निर्माणले  रोजगारी सिर्जनासँगै आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सहयोग गरेको बताए। उनले चलचित्र, पर्यटन र पत्रकारिता एक अर्काको परिपुरक भएको बताउँदै यसको प्रबर्द्धन गर्न सबै जुट्नुपर्ने जनाए।  
   नेपाल फिल्म सोसाइटी कोशी अध्यक्ष देवीभक्त श्रेष्ठले नेपाली भाषा, कला, संगीत, साहित्य, संस्कृति, परम्पराको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न सकिने बताउँदै यसको प्रबर्द्धनका लागी चलचित्र पत्रकारको भूमिका महत्वपूर्ण भएको जनाए।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने,  पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे,  चलचित्र पत्रकार संघ  नेपाल इलामका अध्यक्ष अतित योङहाङ, चलचित्र पत्रकार संघ नेपाल सुनसरीका अध्यक्ष सुवास संकल्प श्रेष्ठ, वीरता जेसीजका अध्यक्ष एलसी श्रेष्ठ लगायतले चलचित्रसम्बन्धी सम्पूर्ण गतिविधिहरूको बारेमा विश्वमाझ जानकारी गराउन चलचित्र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतले चलचित्र पत्रकारले चलचित्रको मात्र नभएर समग्र कला, साहित्य, भाषा, पर्यटनका क्षेत्रमा कलम चलाउने गरेको बताए ।
 चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार साहले कोशी प्रदेशमा चलचित्र निर्माणका गतिविधि बढिरहेको बताउँदै सरकारले चलचित्र क्षेत्रलाई पर्यटनसँग जोड्नु पर्नेमा जोड दिए ।
सोही कार्यक्रममा  चलचित्र पत्रकार संघ कोशी प्रदेश समितिको  सदस्यहरुमा मनोनित सुनिरा मैनाली र शिव भट्टराईलाई निर्बाचन अधिकृत चलचित्र पत्रकार संघ कोशी प्रदेश ईञ्चार्ज नरेन्द्र बस्नेतले सदस्यताको  प्रमाणपत्र वितरण गरेका थिए।

 कार्यक्रममा  चलचित्र पत्रकार संघ कोशी प्रदेश समितिले सबै शाखालाई समेटेर तयार पारेको नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन गरिएको थियो। 

 कार्यक्रममा प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, नयाँ पेपरका अध्यक्ष निर्मलराज खत्री, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स नाट्टाका वरिष्ठ उपाध्यक्ष शेखर ढकाल, प्रवासी झापाली सम्पर्क मञ्च नेपाल झापा शाखा अध्यक्ष सुदर्शन रोक्का, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, चलचित्र पत्रकार संघ मोरङ शाखा कोषाध्यक्ष कप्लेस यादवलगायतको आतिथ्य रहेको थियो ।
 कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूलाई  मायाको चिनोको रुपमा ‘चलचित्र पत्रकार’ पुस्तक र पत्रकार तीर्थ सिग्देलको ‘त्यो झापा’ पुस्तक  चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश अध्यक्ष वीरेन्द्रकुमार शाहले वितरण गरेका थिए ।
  कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ कोशी प्रदेशका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।