बिर्तामोड। झापा बिर्तामोडका युवा व्यवसायी शत्रुघनप्रसाद गुप्ताले  अर्जुनधारा–५ डाँडागाउँमा रहेको जनजाती कल्याण आश्रमद्वारा सञ्चालित फाल्गुनन्द छात्रावासका विद्यार्थीलाई लत्ताकपडा, मिठाई  बितरण गरेर  जन्मदिन मनाएका छन् ।
   जन्मदिनमा   फजुल खर्च गरिने कार्यलाई निरुत्साहित गर्दै गुप्ताले आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाएको बताए।
  उनले भने- जन्मदिनको अवसरमा फजुल खर्चलाई निरुत्साहित गर्दै अर्जुनधारा–५, डाँडागाउँस्थित जनजाति कल्याण आश्रमद्वारा सञ्चालित फाल्गुनन्द छात्रावासमा रहेका विद्यार्थीहरूसँग लत्ताकपडा तथा मिठाई वितरण गरी सादगीपूर्ण रूपमा जन्मदिन मनाउने अवसर प्राप्त भयो। विद्यार्थीहरूसँग बिताएको यो अमूल्य क्षणले मनमा अझ प्रेरणा र खुसी थपेको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।
   उनले आफूले विगतका वर्षहरुदेखि नै सामाजिक कार्य गरेर जन्मदिन मनाउँदै आएको बताउँदै यसरी जन्मदिन मनाउँदा आफूलाई आनन्द आउने जनाए ।
   ठूला तारे होटलमा साथीभाईहरुलाई भव्य पार्टी दिएर जन्मदिन मनाउँदा क्षणिक आनन्द आउने भएपनि सामाजिक कार्य गरेर जन्मदिन मनाउँदा यसले  आफूलाई जीवनभर खुशी दिने उनको भनाई छ।
 फाल्गुनन्द छात्रावासका विद्यार्थीले जन्मदिन मनाउने शत्रुघनप्रसाद गुप्तालाई संस्कृतको श्लोकद्वारा जन्मदिनको शुभकामना दिएका थिए ।
  बिर्तामोडको प्रसाईं सुपर मार्केटमा रहेको न्यू गुप्ता क्लोथ सेन्टरका सञ्चालक रहेका गुप्ता बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य,  छठ समाज सेवा समिति बिर्तामोड,  रौनियार सेवा समितिका कोषाध्यक्ष, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष, चेम्वर अफ कमर्श झापाका कोषाध्यक्ष,  जनजाति कल्याण आश्रमद्वारा सञ्चालित फाल्गुनन्द छात्राबासका सचिव , ओमशान्ती टोल विकास संस्थाका सदस्य ,हिन्दू स्वयंसेवक संघको प्रचार प्रमुखलगायत विभिन्न संघ–संस्थामा आबद्ध रहेका छन् ।
  फाल्गुनन्द छात्रावासमा झापा, मोरङ,पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, चितवन, धादिङलगायतका क्षेत्रका आदिवासी जनजाती समुदायका गरिव तथा जेहेन्दार विद्यार्थीहरु बस्दै आएको छात्राबासका कार्यालय प्रमुख प्रदिप राईले बताए ।
    आर्थिक अवस्था कमजोर भएर शिक्षाबाट वञ्चित रहेका उनीहरुलाई जनजाति कल्याण आश्रमले झापाका विभिन्न सामुदायिक विद्यालयहरुमा निःशुल्क अध्यापन गराउँदै आइरहेको उनको भनाई छ।

  उनले फाल्गुनन्द छात्रावासका विद्यार्थीहरूलाई लत्ताकपडा र मिठाई बितरण गरेर जन्मदिन मनाएकोमा युवा व्यवसायी शत्रुघनप्रसाद गुप्तालाई धन्यवाद दिएका छन्।