बिर्तामोड। झापाको बाह्दशी -६ बिहीबारे बजारमा रहेको कञ्चनगढ एजुकेशन फाउण्डेशनले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट नतिजा हासिल गरेको छ।
हालै सार्वजनिक भएको नतिजाअनुसार परीक्षामा सहभागी १९ जना विद्यार्थीमध्ये अधिकांशले उत्कृष्ट जीपीए ल्याएको कञ्चनगढ एजुकेशन फाउण्डेशनका संस्थापक संरक्षक जीवन पनेरूले बताए ।
विद्यालयकी छात्रा सेवीका श्रेष्ठले ३.७७ जीपीए र छात्र राजन बस्नेतले ३.६४ जीपीए ल्याएर ए प्लस हासिल गर्दै विद्यालयकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएको उनले बताए।
त्यस्तै ३.२३ देखि ३.४६ जीपीए ल्याएर ए ग्रेड प्राप्त गर्ने ७ जना, २.८७ देखि ३.०७ जीपीए ल्याएर बी प्लस प्राप्त गर्ने ३ जना तथा २.४७ देखि २.७९ जीपीए ल्याएर बी ग्रेड ल्याउने ५ जना विद्यार्थी रहेको उनले बताए।
२०६२ सालमा स्थापना भएको कञ्चनगढ एजुकेशन फाउण्डेशन बाह्दशी गाउँपालिकाकै उत्कृष्ट शैक्षिक संस्थाको पहिचान बनाउन सफल भएको बताउँदै संस्थापक संरक्षक पनेरूले गाउँमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालय सञ्चालन गरेकाले एसईईको उत्कृष्ट नतिजाले अझ हौसला थपेको जनाए।
ग्रामीण क्षेत्रका विद्यालयहरू मध्ये गुणस्तरीय शिक्षा र निरन्तर उत्कृष्ट नतिजामार्फत अभिभावकहरूको मन जित्न सफल भएको उनको भनाइ छ।
साविक डाँगीबारी गाविसको अंग्रेजी माध्यमको पहिलो विद्यालयको रूपमा कञ्चनगढ एजुकेशन फाउण्डेशन स्थापना गरिएको बताउँदै संस्थापक संरक्षक पनेरूले यस विद्यालयबाट एसईई परीक्षाको आठौं ब्याचसम्म उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाए।
बाह्दशी गाउँपालिकाकै धार्मिक तथा पर्यटकीय स्थल कञ्चनगढ धामको नामबाट स्थापित यस विद्यालयले विपन्न समुदायका बालबालिकाहरूलाई सर्वसुलभ छात्रवृत्ति लगायतका सेवा सुविधा उपलब्ध गराउँदै आएको उनको भनाइ छ।
विद्यालयले विद्यार्थीहरूको क्षमतालाई अभिवृद्धि गर्न विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै संस्थापक संरक्षक पनेरूले बाह्दशी गाउँपालिकामा सञ्चालन हुने पालिकास्तरीय अतिरिक्त गतिविधि, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूमा समेत उत्कृष्ट हुँदै आएकाले कञ्चनगढ एजुकेशन फाउण्डेशन अभिभावकहरूको रोजाइमा परेको जनाए।



















