बिर्तामोड। यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड -५ ले विपन्न परिवारलाई नगदसहित खाद्यान्न बितरण गरेको छ।
बिर्तामोड-५ निवासी यशोदा निरौलाको एघारौँ स्मृति सभाको अवसर पारेर यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड -५ ले १३ जना विपन्न परिवारलाई नगदसहित खाद्यान्न सामग्री वितरण गरेको
प्रतिष्ठानका अध्यक्ष नन्दिकेशर निरौलाले बताए।
यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड -५ का अध्यक्ष नन्दिकेशर निरौलाको अध्यक्षता तथा बिर्तामोड- ५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संस्थापक सचिव लक्ष्मी निरौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अर्जुनधारा -६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला , पाथिभरा टोल विकास संस्थाका अध्यक्ष नारायण प्रसाद चिमरिया , पाथिभरा टोल विकास महिला समितिको अध्यक्ष निर्मला कडरिया लगायतले शुभकामना मन्तव्य राख्दै प्रतिष्ठानले गरेको कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रममा यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड -५ का अध्यक्ष नन्दिकेशर निरौला, बिर्तामोड- ५ का वडाध्यक्ष रोहित प्रसाईं, अर्जुनधारा -६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला , पाथिभरा टोल विकास संस्थाका अध्यक्ष नारायण प्रसाद चिमरिया , पाथिभरा टोल विकास महिला समितिको अध्यक्ष निर्मला कडरिया , प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुकुमार निरौला, संस्थापक सचिव लक्ष्मी निरौला, हालका सचिव रमेश निरौलाले १३ जना विपन्न परिवारलाई जनही प्रति परिवार दुई बोरा चामल ५ लिटर खानेतेल, चना २ केजी, चिनी २ केजी, दाल ५ केजी एक दर्जन कपडा धुने साबुन सहित नगद २ हजार ५०० का दरले प्रदान गरेका थिए ।
बिर्तामोड-५ निवासी यशोदा निरौलाको स्मृतिमा २०७२ सालमा १५ लाख रुपैयाँको अक्षयकोष राखेर यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड -५ को स्थापना गरेको र उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा विभिन्न कार्य गर्दै आएको प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले बताए।
प्रतिष्ठानले विपन्न नागरिकका लागि निःशुल्क रुपमा शववाहन सेवा समेत सञ्चालन गरिरहेको उनको भनाई छ। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य वसन्त रिमालले गरेका थिए।



















