बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल झापा ,बिर्तामोडद्वारा आयोजित नृत्य प्रतियोगितामा बेल्स मोडेल इङलिस स्कूल र न्युटन्स एजुकेसन एकेडेमी  बिजयी भएका छन् । 

प्याब्सन झापाको बार्षिक कार्यक्रम अन्तरगत  बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार भएको प्राथमिक तह र निम्न माध्यमिक तहको नृत्य प्रतियोगितामा प्राथमिक तहतर्फ बेल्स मोडेल इङलिस स्कूल र निम्न माध्यमिक तहतर्फ न्युटन्स एजुकेसन एकेडेमी  बिजयी भएका हुन् । 

प्राथमिक तह(कक्षा १–५ )अन्तर्गतको सामुहिक नेपाली आधुनिक गीत नृत्य प्रतियोगितामा बेल्स मोडेल इङलिस स्कूल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल द्वितिय र कञ्चन इङलिस स्कूल  तृतीय भएका थिए भने निम्न माध्यमिक तह (कक्षा ६–८ )अन्तर्गतको राष्ट्रिय गीत नृत्य प्रतियोगितामा न्युटन्स एजुकेसन एकेडेमी प्रथम, बुद्ध स्मृति एजुकेसन फाउण्डेसन द्वितिय र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तृतीय भएको प्याब्सन बिर्तामोडका सचिव सुरेन्द्र खरेलले जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत बिहीबार माध्यमिक तह (कक्षा ९–१२ )को सांस्कृतिक नृत्य र १२ बर्षमुनिका र १२ बर्ष माथिका विद्यार्थीको गायन, कक्षा ११ र १२ का बिद्यार्थीको गायन प्रतियोगिता हुने उनले बताए । प्रतियोगिताका प्रथमले आगामी पुस १ र २ गते दमकको पशुहाटमा हुने प्याब्सन झापाको जिल्लास्तरिय प्रतियोगीतामा भाग लिने उनले बताए ।  

प्रतियोगिताको निर्णायकमा सुमन योगी, मनिष कटुवाल र प्रनिसा उदास रहेको र प्रतियोगितामा ५० वटा भन्दा वढी बिद्यालयको सहभागीता रहेको उनले बताए । 

प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा  बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  प्याब्सन बिर्तामोडका सह–सचिव देबेन्द्र हुुमागाईले स्वागत गरेका थिए । शिक्षासेवी स्वर्गीय नरेशमान धिमालको तेह्रौँ दिनको पुण्य तिथीको अवसरमा  माल्यार्पणसहित मौन धारण गरिएको  कार्यक्रममा बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना दिएका थिए ।

प्रतियोगिताका बिजेता विद्यार्थीलाई ट्रफि ,मेडल प्रदान गरिएको कार्यक्रमको सञ्चालन प्याब्सन बिर्तामोडका सचिव सुरेन्द्र खरेल र प्याब्सन बिर्तामोडका सह–सचिव देबेन्द्र हुुमागाईले गरेका थिए ।