बिर्तामोड। आगामी  फागुन १९ गतेदेखि हुने छैटौँँ संस्करणको झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।

आगामी  फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताए ।

झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले काम सुरु गरेको , रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको उनको भनाइ छ ।

 छैटौँँ संस्करणको झापा गोल्डकपका लागि रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृृष्ट फरवार्ड, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार प्रदान गरिने र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने गिरीले बताए । 

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ । आगामी  फागुन १९ गतेदेखि हुने छैटौँँ संस्करणको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुने बताइएको छ ।