बिर्तामोड । अर्ना छैटौं झापा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड एफसिले चुमेको छ ।

झापाको बिर्तामोड –३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न चर्च ब्वाइज युनाइटेड एफसि र एपीएफ एफसिबीच भएको फाईनल खेलमा एपीएफ एफसिलाई ३–० गोल अन्तरले हराउदै चर्च ब्वाइजले उपाधि चुमेको हो । 

चर्च ब्वाइजका जर्सि नम्बर ३२ का अवयोमि ओलुवासिओन फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई जित नजिक पुर्याएका थिए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजका जर्सि नम्बर ९ का राजेश परियारले गोल गर्दै टिमलाई जित निश्चित गराएका थिए । 

झापा गोल्डकपको बिजेता चर्च ब्वाइजले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ  भने उपबिजेता एपीएफले सात लाख रुपैयाँमा चित्त बुझाएको छ । 

खेलको म्यान अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका सुरज जिउ ठकुरी भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए । यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदियमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए । गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

गत फागुन १९ गतेदेखि सुरु भएको अर्ना छैटौं झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । 

विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेको महासचिव गजेन्द्र पौडेलले बताए । 

कार्यक्रममा झापा ११ का पुर्व खेलाडीहरु गोल किपर मिनबहादुर बस्नेत, कुमार गिरी, कर्ण लिम्बु, खमिर गिल्सन कन्दङवा, बिशाल राई, योगेश गुरुङ, सचिन्द्र धिमाललाई झापा खेल रत्न प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट पत्रकारको रुपमा ११ हजार नगदसहित पत्रकार तिलक योञ्जनलाई सम्मान गरिएको थियो भने झापा गोल्डकप सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई सम्मान गरिएको थियो ।

त्यस्तै झापा गोल्डकप टिकट काटेर हेर्ने भाग्यशाली दर्शकलाई सेमीफाइनलबाट सामसुङको आधिकारिक विजेता महेन्द्ररत्न स्टोर्स एनइडी टेलिभिजन प्रदान गरेको महेन्द्ररत्न स्टोर्स बिर्तामोडका सञ्चालक भेषराज भण्डारी प्रशान्तले जानकारी दिए । त्यस्तै झापा गोल्डकप टिकट काटेर हेर्ने भाग्यशाली दर्शकलाई प्रत्येक खेलमा मोवाइल सेट प्रदान गरेको शिव खतिवडाले बताए ।

झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले,हाँस्य कलाकार हरिवंश आचार्यलगायतले शुभकामना दिएका थिए ।

गायक तथा संगितकार कालिप्रसाद वाँस्कोटाले गीत , वाल्मिकी स्कूलका विद्यार्थीले नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।