बिर्तामोेड । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा प्रादेशिक रङ्गशाला इटहरीमा सञ्चालन हुने कोशी प्रदेश स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा सहभागी हुने झापाका खेलाडीहरुलाई एक कार्यक्रमका बीच  विदाई गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापाबाट सहभागी हुने एक सय ८ जना खेलाडी र १२ जना अफिसियल र दुई जना जिल्ला खेलकुद विकास समिति झापाका प्रतिनिधी गरि एक सय २२जनाको टोलिलाई बिदाई गरिएको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष  भेषराज भण्डारी(प्रशान्त)ले जानकारी दिए ।

अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष  भेषराज भण्डारी(प्रशान्त)ले स्वागत तथा औचित्यमाथी प्रकाश पारेका थिए ।

उनले १४ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सफल पार्न अर्जुनधारा नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै झापाका अन्य स्थानीय तहले पनि सहयोग गरे झापामा खेलकुदको विकास हुने जनाए ।

उनले कोशी प्रदेश स्तरीय  १४ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा सहभागी भएर बिजयी हुँदै झापाको इतिहास रच्न  झापाका खेलाडीहरुलाई विजयको शुभकामना दिए भने खेलाडीहरुलाई अनुसासनमा राखेर प्रतियोगिता सफल बनाउन अफिसियलहरुलाई निर्देशन दिए । 

  कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी नगर उपप्रमुख खड्गमाया पराजुली , जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष  भेषराज भण्डारी(प्रशान्त), वडा नं.६ का अध्यक्ष हरिसचन्द्र बास्तोला, वडा नं.८ का अध्यक्ष तथा अन्तरास्ट्रिय कराँते प्रशिक्षक कुमार उप्रेती, कार्यपालिका सदस्य भोला परियार, कराते प्रशिक्षकहरु मदन उप्रेती, कालु मेचे, मिलनराज प्रसाई, जिल्ला खेलकुद विकास समिति झापाका प्रवक्ता तथा कराँते महासंघका झापा अध्यक्ष जगन कार्की दुर्वासा  लगायतले झापाका १५ वटै पालिकाबाट छनोट भएका खेलाडीहरुलाई अबिर र खादा लगाएर विदाई गरेका थिए ।

कार्यक्रममा बिदाई गरिएका सबै खेलाडी र अफिसियललाई अर्जुनधारा नगरपालिकाको प्रायोजनमा ट्रयाकसुट र प्लेइङ डेर्स प्रदान गरिएको थियो ।

झापाबाट सहभागी हुने एक सय ८ जना खेलाडीले कराँते, उसु,  भलिबल, कबडी, एथलेटिक्स र तेक्वान्दो गरि ६ वटा खेल विधामा  प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख विष्णु नेम्वाङले बताए । कार्यक्रमको संचालन कराँते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।