बिर्तामोड। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कथा बाचिका भागवत मञ्जरी राधिका दासीले हरितालिका तीजको व्रतको अघिल्लो दिन वेलुका मात्र तीजको दर खानुपर्नेमा जोड दिएकी छिन्।
काठमाडौं पशुपतिमा सञ्चालन भइरहेको ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञमा कथा बाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासीले हरितालिका तीजको व्रतको अघिल्लो दिन वेलुका मात्र घरमा खाने दर अहिले महिना दिन अघिदेखि होटल र वेक्वेटमा खाने प्रवृत्ति बढेको र त्यसले समाजमा विकृति बढाएको बताइन् ।
नेपालको सांस्कृतिक धरोहरहरू मध्ये एक हरितालिका तीजलाई अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाउनु पर्ने भए पनि पछिल्लो समय यसलाई केवल मनोरञ्जनको माध्यम बनाउन थालिएको उनको भनाई छ।
‘हरितालिका’ शब्दलाई ‘हरित’ अर्थात भगवती पार्वतीको सखीहरूले उनलाई हराइदिने घटना, र ‘आलिका’अर्थात अपहरण गर्नु वा साथ लगेर जानु रहेको बताउँदै उनले सत्ययुगमा देवी पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेको त्यस क्रममा सखीहरूले उनका पिताले अन्यत्र विवाह गर्न नदिउन् भनेर वनमा लगेर लुकाएको कथा पुराणमा उल्लेख रहेको जनाइन् ।
यही दिनलाई स्मरण गर्दै भाद्र शुक्ल तृतीयामा तीजको व्रत बस्ने परम्परा चलेको र ब्रतको अघिल्लो दिन बेलुका माइतघरमा आमाले पकाएको मिठो मसिनो पक्वान्न दरको रूपमा खाने प्रचलन रहेको उनको भनाई छ।
तीजको व्रत बस्न अघिल्लो दिन बेलुकी घिउमा चाम्रे पकाएर आमाले खुवाउने चलन चलेको भएपनि अहिले भने त्यो चलन हटेर महिनौं दिन अघिदेखि ठूला तारे होटलमा दर खाने संस्कृति बढेको र त्यसले बिकृति बढेको उनी बताउँछिन् ।
तीजको व्रत बस्ने अघिल्लो दिन बेलुका महिलाहरूले दरको रूपमा सात्विक भोजन गर्नुपर्ने बताउँदै उनले अहिले दरको नाममा ठूला तारे होटलमा सेकुवा,बियरलगायतका मदिराजन्य पदार्थ सेवन गरी दरको संस्कृतिलाई विकृतिमा परिणत गरेको उनको भनाई छ।
विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु , परिवारको सुखको लागि र अविवाहित युवतीहरूले योग्य वर पाउनको लागि विश्वास बोकेर तीजको व्रत बस्ने गरेपनि अहिले औपचारिकता मात्र निभाएर केवल महँगो पहिरन, गरगहना प्रदर्शन गर्ने फेसन भएको उनको भनाई छ।
तीज केवल धार्मिक परम्परा मात्र नभएर समाजमा महिलाको एकता, साझा पीडा र आशाका कथा सुनाउने खुला मञ्च भएको र यसलाई कायम गर्नुपर्ने उनले बताइन् ।
पहिले पहिले गाउँघरदेखि सहरसम्म, दिदीबहिनीहरू भेटघाट गरी गीत संगीत मार्फत आफ्ना व्यथा पोख्ने गरेपनि अहिले मनोरञ्जनको नाममा तयार भएका तीजका गीतले संस्कार होइन, विकृति बेचिरहेका उनको भनाई छ।
अहिले देखिएको तीजको विकृतिलाई नयाँ पुस्ताले अनुशरण गरे यसले भयाबह रूप लिने बताउंदै उनले नयाँ पुस्तालाई तीजको वास्तविक कथा, व्रतको अर्थ , दर र धार्मिक महत्व बारे बुझाउन सक्नुपर्ने जनाइन् ।
तीजमा महिलाले अरूको देखासिकी गर्दै महँगो पहिरन, गरगहना प्रदर्शन गर्ने परिपाटीले परिवारमा बिखण्डन ल्याउने अवस्था आउने गरेकाले तीजको नाममा खर्च गर्नुभन्दा पहिले श्रीमानको गोजी छाम्न उनले आग्रह गरिन्।
विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायुको लागी तीजको व्रत बस्ने भएपनि तीजमा गरिने खर्चले श्रीमानको दीर्घायु होइन श्रीमान नै धर्तीमा नरहने अवस्थासम्म आउने उनको भनाई छ।
यस वर्षको तीजलाई भव्यरूपमा मनाउन
काठमाडौं पशुपतिमा सञ्चालन भइरहेको ऐतिहासिक श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन ज्ञानमहायज्ञमा सहभागी हुन उनले सबैलाई आग्रह समेत गरिन् ।
उनले भनिन _ पशुपतिमा आउनुहोस् सबै भएर भगवान शिवको आरधाना गर्दै तीजको दर खाउंला र भव्य तीज मनाऔंला।
















