बिर्तामोड। मेची उद्योग वाणिज्य संघ मेचीनगर झापाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष खेमराज प्रसाईंको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रसाईले स्वागतसहित अध्यक्षीय मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षतिग्रस्त बनेको
मेची भन्सार कार्यालय काँकडभिट्टालाई माथी उकास्न सहयोग गरेको भन्दै मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंलाई भन्सार अधिकृत माङकल राईले प्रशंसा पत्र प्रदान गरेका थिए।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका झापा सम्वाददाता गणेशमान मुखियालाई प्रदान गरिएको थियो।
उक्त पुरस्कारको घोषणा नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेलले घोषणा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी राउत, अध्यक्ष प्रसाई लगायतले मुखियालाई नगद २१ हजार, सम्मान पत्र प्रदान गरेका थिए।
कार्यक्रममा नियमित नविकरण गरी विपद्मा परेका व्यवसायी आगलागीपीडित आशिष अधिकारीलाई ४० हजार रूपैयाँ र आगलागीपीडित अस्मिता पाउरोटी उद्योगका सञ्चालक रोहीकुमार पौडेललाई ३० हजार रूपैयाँ राहत प्रदान गरिएको थियो।
त्यस्तै हालै निधन भएका फलफूल व्यवसायी सुमन सहनीको परिवारलाई एक लाख रूपैयाँको व्यवसायी राहत वीमा रकम प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथी राउत, संस्थाका सल्लाहकार विमल आचार्य, ईनरूवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार शाह, पूर्व अध्यक्ष केशवराज पाण्डे , संस्थापक अध्यक्ष पन्नालाल जैनलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका महासचिव दिनेश शाक्यले संस्थागत गतिविधिसहितको बार्षिक प्रतिवेदन र बरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री कपिलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री कपिलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव दिनेश शाक्यले गरेको कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए।




















