बिर्तामोड। किराँत याक्थुङ चुम्लुङ नगर शाखा बिर्तामोडको आयोजनामा झापाको अर्जुनधारा ६ महानन्द चोकपश्चिम अर्जुनधारा  ब्याडमिन्टन हलमा संयुक्त भूपू सुरक्षाकर्मी राष्ट्रिय स्तरीय प्रथम ब्याडमिन्टन प्रतियोगिता र कोशी प्रदेशस्तरीय सिभिल बी लेभल खुल्ला र  भेट्रान्स डबल ४५ बर्ष माथिको  ब्याडमिन्टन प्रतियोगिता मंगलबारबाट शुरू भएको छ।
   किराँत याक्थुङ चुम्लुङ बिर्तामोड नगर समितिका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ झापाजिल्ला सचिव भीममाया नेम्बाङ कन्दङ्वाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
   कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ बिर्तामोड नगर समितिका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले औचित्यमाथी प्रकाश पार्दै  प्रतियोगिता बारे जानकारी गराएका थिए।
   कार्यक्रममा प्रमुख अतिथी गुरूङले यो ऐतिहासिक प्रतियोगिता भएकाले यसलाई सफल बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
   कार्यक्रममा राष्ट्रिय अम्पायर केदार धिमालले शपथ ग्रहण गरेका थिए भने भेट्रान्स खेलाडी नन्दहाङ नेम्बाङले शपथ ग्रहण गरेका थिए।
   मूल आयोजक  समिति सदस्य तथा व्यवस्थापक क्याप्टेन सिके बेघाले  रिटायर्ड ब्रिटिस आर्मी, इण्डियन आर्मी,  नेपाल आर्मी,सिङ्गापुर पुलिस, नेपाल एपिएफ , नेपाल प्रहरी जनपदहरूबीच खेलको माध्यमबाट आपसी भाइचारा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
नेपालमै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले देशभरका रिटायर्ड आर्मी र सिभिल गरी एक सय टीमभन्दा बढी सहभागिता रहेको जानकारी दिए।
सिभिलहरूका लागी प्रदेशस्तरीय बी लेभल र भेट्रान्स ४५ बर्षमाथी खेलाडीहरूको सहभागिता रहेको उनको भनाई छ। प्रतियोगितामा  १० लाख रूपैयाँ खर्च हुने बताउँदै उनले खेलाडीहरूलाई खाना बस्नलगायतको सुविधा उपलब्ध गराएको जनाए।
प्रतियोगिताको ५० बर्षभन्दा मुनीको भूपू पुरूष डबल्सतर्फ  प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, ५० बर्षभन्दा माथीको भूपू पुरूष डबल्सतर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, कोशी प्रदेश बी लेभल सिभिल खुल्लातर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, कोशी प्रदेश भेट्रान्स डबल्स ४५ वर्षदेखि माथी प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, भूपू डिपेन्डेसन महिला डबल्सतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार ५ सय, भूपू  र डिपेन्डेसन मिक्स डबल्सतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार ५ सय रूपैयाँ रहेको उनले बताए।
प्रतियोगिता बैशाख २४ गते समापन हुने उनले बताए।
कार्यक्रमको सञ्चालन झापा जिल्ला ब्याडमिन्टन संघका सचिव शैलेन्द्र कुरुम्बाङले गरेका थिए।