बिर्तामोडबिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले सामाजिक कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन्।

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा आर्थिक सहयोग गरेर उनले आफ्नो जन्मदिन मनाएका हुन्। 
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले आफू अध्यक्षमा निर्वाचित  भएपछि उद्योगी–व्यवसायीको हकहित संरक्षण गर्दै  आपत–विपतमा परेका उद्योगी–व्यवसायी सदस्यलाई तत्काल मलमपट्टी गर्ने उद्देश्यले व्यवसायी सदस्य राहत कोष स्थापना गरेको र त्यहि राहत 
कोषमा आफ्नो जन्मदिनमा ५१ हजार रूपैयाँ सहयोग प्रदान गरेका हुन् ।

उनले आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायी समुदाय विभिन्न किसिमका जोखिम र संकटमा पर्ने भएकाले राहत कोषलाई निरन्तर सशक्त बनाउँदै लगिने बताए ।
 आफूहरू संधै व्यवसायीको दुःख–सुखमा साथ दिने  बताउँदै उनले  व्यवसायी सदस्य राहत कोषले आपतमा परेका  व्यवसायी सदस्यलाई समयमै सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।
सबैको सहयोगले व्यवसायी सदस्य राहत कोषमा सहयोग प्रदान निरन्तर बढ्दै गएकाले   आगामी दिनमा सदस्यको आवश्यकता अनुसार सहयोग वितरण प्रक्रिया थप प्रभावकारी बनाइने उनको भनाई छ।
उद्योगी–व्यवसायीको साझा हितका लागि क्रियाशील बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषले संकटका घडीमा व्यवसायीलाई साथ दिने विश्वासका साथ सहयोग अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए  ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा पूर्व अध्यक्ष संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तथा व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे राजुले स्वागतसहित कोष स्थापनाको उद्देश्यबारे बताएका थिए।
   उनले एक करोड रूपैयाँको राहत कोष स्थापना गर्ने उद्देश्यले राहत कोष शुभारम्भ गरेको र कोषमा आफ्नो जन्मदिन, वैवाहिक वर्षगाठ, पितृको स्मरणमा रकम सहयोग गर्दै आएको बताए।
जुनसुकै सहयोगले पनि कोषलाई जीवन्त बनाउने बताउँदै उनले व्यवसायीको सहयोगले आपतका बेला व्यवसायी सदस्यलाई छिटो सहारा दिन थप ऊर्जा मिलेको जनाए।
  उनले राहत कोषमा सहयोग गर्ने दातालाई सम्मान गर्ने परम्पराले सहयोगी दाताको आत्मबल बढ्ने  बताए ।
व्यवसायी सदस्य  राहत कोष सञ्चालनमा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेको उनको भनाई छ।
कार्यक्रममा जन्मदिनमा रकम प्रदान  गर्ने अध्यक्ष न्यौपानेलाई कदर पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सल्लाहकार तथा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले  आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु  न्यौपानेले व्यवसायी सदस्य राहत कोषमा ५१ हजार रूपैयाँ सहयोग प्रदान गरेकोमा प्रशंसा व्यक्त गर्दै अरूहरूलाई समेत कोषमा सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा प्रमुख अतिथी शिवाकोटीले बिर्तामोड उद्योग वाणिज्य संघले  व्यवसायी सदस्य राहत कोष स्थापना गरेर पुण्यको कार्य गरेको बताए।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए।